काठमाडाैँ । कुर्था-जयनगर रेल सञ्चालनको एक वर्षमा सरकारलाई ४२ करोड रुपैयाँ घाटा भएको छ । रेलबाट एक वर्षमा आठ करोड आम्दानी भए पनि५० करोड रुपैयाँ बराबरको खर्च भएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले सीआईएनलाई जानकारी दिनुभयो ।
कम्पनीका अनुसार अहिले दिनमा दुई पटक आवतजावत गरिरहेको रेलबाट दैनिक २ लाख ५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन् । नेपाली जनशक्ति नहुँदा भारतका कर्मचारीलाई मासिक १८ लाख रुपयाँ तलब दिनुपर्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।
गत वर्ष चैत २० गतेदेखि भारतको जयनगरदेखि नेपालको कुर्थासम्म नियमित रेल सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकार र भारतीय रेल्वे कम्पनी कर्पोरेसन कोङ्कणबिच भएको सम्झौताअनुसार सरकारले कोङ्कणलाई वार्षिक ४८ करोड रुपैयाँ तिर्नुपर्ने भएकाले पनि घाटा देखिएको उहाँले बताउनुभयो । ‘त्यसबाहेक रेलको सरसफाई र इन्धनका लागि पनि भारतलाई पैसा तिनु पर्ने बाध्यता छ’ महानिर्देशक झा ले भन्नुभयो, ‘हामी आफ्नै वासिङ सेन्टर र फ्युल सेन्टर बनाउने तयारी गरिरहेका छाैँ ।’
त्यसपछि खर्च कम हुने उहाँको दाबी छ । यात्रुवाहक रेल मात्र चलाएर रेल सेवा फाइदामा नजाने र नाफाका लागि कार्गो सेवा चलाए मात्रै आम्दानी बढाउन सकिने भएकाले जयनगर कुर्थामा पनि कार्गो सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९