पुस्तकको पछिल्लो पातोमा लेखक बुद्धिसागरले सोध्नुभएको छ– ‘एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरुद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?’
पुस्तक सर्सती छिचोलिसके पछि फेरि त्यहि अन्तिम पातो सुम्सुम्याउँदै मेरो निष्कर्ष छ– ‘धेरै ठाउँमा ।’ एक एक गरेर उत्तर दिने हो भने ‘धेरै थोक हुन्छ ।’ ‘धेरै ठाउँमा सिरिङ्ङ पार्छ ।’ ‘धेरै ठाउँमा गला अवरुद्ध पार्छ ।’ ‘अनि धेरै ठाउँमा मुठ्ठी कस्ने बनाउँछ ।’ कुरो यतिमै मात्र सकिँदैन, यो किताबले आक्रोशले कस्सिएका मुठ्ठी फुकाएर हत्केलाले आँसुु पुछ्ने बनाउँछ । त्यो पनि ठाउँ ठाउँमा, धेरै ठाउँमा ।
सन्दर्भ हो पुस्तक– शून्यको मूल्यको । जसलाई लेखक डा. नवराज केसीले सास, साहस र स्नेहको कथा भन्नुभएको छ ।
बुधेकी ‘फुपूआमा’देखि सुरु भएको कथा ‘पुतली आमा’मा पुगेर कति छिट्टै टुङ्गियो पत्तै पाइनँ । २ सय ४३ पानाको पुस्तक छिचोलिसक्दा तीन पटक पटक त म धेरै नै रोएँ । केही ठाउँमा रोईहाल्नु अघि आँशु रोकेँ, केहीबेर अन्तै टोलाएँ र फेरि पाना पल्टाएँ ।
धेरै पटक कर्णालीको स्वास्थ्य अवस्थाको चित्रणले पढ्दा आङ सिरिङ्ङ भयो । अनि धेरै पटक राज्यलाई धिक्कारेँ । सुरुमै बुधेकी फुपूआमाको अदम्य साहस अनि बुधे र उनकी दिदीले एउटै कापी आलोपालो गरेको परिवेशले नरमाइलो लाग्यो, आँशु झरिहाले ।
पढ्दै जाँदा अन्तिम पटक ‘मृत्युपछिको जीवन’ले रुवायो । यसमा एकजना हजुरआमाको महत्त्व, ममता अनि स्नेहको कथा छ । एक जना नानी जसले आफ्नी हजुरआमा अर्थात ‘नानीआमा’लाई लामो समय पर्खिन् । ‘नानी आमा’ फर्केर नआएपछि उनै नानी पिसाब रोक्न नसक्ने अवस्थामा पुगिन् । उनको हरपलको साथी घरदेखि विद्यालयसम्म मात्र होइन हरेक संसारमा ‘नानीआमा’ मात्रै हुनुहुन्थ्यो । हरेक दिन विद्यालयमा लिन आउने नानीआमा त्यस दिन आउनुभएन । घर फर्कँदा नानी आमालाई एम्बुलेन्समा राखेर लगेको उनले देखिन् । फर्किनुहुन्छ भनिएकी ‘नानीआमा’ फर्किनुभएन । हरेक दिन पर्खँदा पनि ‘नानीआमा’लाई देख्न नपाइएपछि अन्ततः उनलाई मानसिक विकार अर्थात एङ्जाइटी भयो ।
यो कथा पढ्दै गर्दा ती सानी नानीमा मैले आफैलाई देखेँ अनि ‘नानीआमा’मा चाँही मेरो ‘माम’ अर्थात हजुरआमालाई । नानीको जस्तै मेरो पनि माम हुनुहुन्थ्यो जसको माया मैले १९ वर्षसम्म निरन्तर पाएँ । उहाँ चैत ५ गते हामीलाई छोडेर जानुभयो । मलाइ चैत ५ मात्र होइन अनि सिङ्गो चैत महिना पछिल्लो ५ वर्षदेखि मनै पर्दैन । उनै नानीले जस्तै मैले पनि अकस्मात मेरो ‘माम’ गुमाउनुप¥यो । मेरो माम नै त हुनुहुन्थ्यो, जसको सहारामा एक दसकदेखि पत्रकारिता क्षेत्रमा छु । उहाँले नै त मलाई तामाङ भाषा सिकाउनुभयो । तामाङ भाषा जानेको भएरै मैले कालिञ्चोक एफएम दोलखामा तामाङ भाषाको समाचार वाचनको जिम्मा पाएँ । आधारभुत पत्रकारिता तालिमका लागि फारम खुल्दै गर्दा मेरो ‘माम’ ले नै त फिबापतको १ हजार ५० रुपैयाँ तिरिदिनुभएको थियो ।
उहाँ हामी माझ रहँदाासम्म बेलाबखत यो प्रसङ्ग निकालिरहनुहुन्थ्यो । उमेर ढल्किदै जाँदा मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या हुन्छ । प्रेसर, सुगर त लगभग कमन भइसक्यो तर उहाँको सक्रियता, ज्ञानकै कारण हुन सक्छ ८७ वर्षको उमेरसम्म पनि उहाँलाई कुनै पनि स्वास्थ्य समस्या थिएन, बेलाबखत रुघाखोकी बाहेक । कुनै पनि स्वास्थ्य समस्या नभएको उहाँसँग चैत ५ गते बिहान खाना खाएर अफिस गएको बेलुका घर आउन नपाउँदै सुतेकै ठाउँमा उहाँको निधन भइसकेछ ।
आफूले अत्यन्तै माया गरेको मान्छेले अचानक छोडेर जाँदा शब्दमा बयान गर्न नसकिने पीडा हुँदो रहेछ । त्यसैले पनि होला ति नानीको पीडा अनि उनको नानी आमा प्रतिको मायाले मलाई धेरै रुवायो । फेरि मलाइ त लाग्थ्यो मेरो मामको त कहिले पनि निधन हुँदैन उहाँ हामी माझ सदैव रहनुहुनेछ । प्रकृतिको नियम विपरित के नै पो हुन्थ्यो र ? डा. केसीकै शून्यको मूल्यमा अट्ने पात्र मेरो ‘माम’ म्हेन्दो तामाङ पनि हुनुहुन्थ्यो । उहाँले अक्षर चिन्नुहुन्न थियो, तर, स्वास्थ्य समस्यादेखि हरेक समस्याको समाधान त्यो पनि अर्गानिक अनुभवसहित हुन्थ्यो । हरेक प्रश्नको जवाफ हुन्थ्यो उहाँसँग ११ जना सन्तान जन्माएर पनि २ जना छोराछोरी मात्रै बाँच्दाको पीडादायी अनुभव पनि थियो । समयमै अस्पताल पु¥याउन नपाउँदा अकालमै श्रीमानको मृत्यु हुँदा परीवारलाई सम्हालेको उहाँको अनुभव पनि थियो । मेरो मामसँग के कुराको मात्रै ज्ञान थिएन होला र ? प्रमाणपत्र मात्रै नभएको न हो । अनुभव र ज्ञानको आधारमा उहाँ हरेक विधामा उत्कृष्ट हुनुहुन्थ्यो ।
उहाँको अमूल्य अनुभव, ज्ञान, सीप, सुझाव, माया मैले अनि मेरो परीवारले भरपूर लिन सक्याँै । उहाँसँग बिताएका हरेक पलले हाम्रो जीवनलाई सही दिशानिर्देश गर्नमा हाम्रो अन्तिम समयसम्म सघाउनेछ, उहाँलाई हामीले गर्नुपर्ने माया, सम्मान सके जति दियौँ जस्तो लाग्छ ।
यो लेख्दै गर्दा शून्यको मुल्यबारे चर्चा गर्न बसेको म आफ्नै कुरा अलि बढी गर्न थालेछु । पुस्तकमा मलाई नानीको ‘नानीआमा’ र मेरो ‘माम’ को प्रसङ्गले बढी नै छोयो । आफुसँग मिल्दोजुल्दो भोगाई, कथाले बढी छुनु स्वभाविक पनि हो । मलाई लाग्छ, जसको घरमा वृद्धवृद्धा हुनुहुन्छ, जसको ‘माम’, ‘आखे’ (हजुरआमा, हजुरबुवा) हुनुहुन्छ उहाँहरु असाध्यै भाग्यमानी हो भन्ने लाग्छ ।
डा. नवराज केसीले सन् २०१४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनले हजुरआमाले जीवनको अन्तिम समयमा पनि नातानातीनाको हेरचाह गरेर देशलाई करिब सात विलियन बेलायती डलर वार्षिक रुपमा कमाएर दिने गरेको उल्लेख गर्नुभएको छ । बालबच्चाको सुसारेको काम उहाँहरूले निशुल्क गरिदिँदा देशलाई भएको फाइदाको कुरा थियो यो ।
डा. केसीका अनुसार अक्सफोर्ड ह्यान्डबुक अफ इभोल्युसनरी फेमिली साइकलजीमा पनि मानिस मात्रै नभइ अन्य प्राणीमा पनि हजुरआमाको महत्त्व उल्लेख गरिएको छ । लामो समयको गहिरो अनुसन्धानले जुन हात्तीको बच्चाको हजुरआमा हुन्छिन् त्यो बच्चो हात्तीले दुईवटा आमा बराबरको स्याहार पाउने रहेछ । हजुरआमाले हुर्काएका किसान बलिया र सफल, हजुरआमाले हुर्काएका नेता भावनात्मक रुपले असल नेता । तर, हाम्रो देशमा ज्येष्ठ नागरिकले आफ्नै परीवारबाट सम्मान पाउँदैनन् । राज्यले ज्येष्ठ नागरिकको योगदान देख्ने कुरै भएन । ज्येष्ठ नागरिकले कहिलेसम्म अपहेलना खेप्नुपर्ने होला ? ज्येष्ठ नागरिकलाई कहिलेसम्म बोझको दृष्टिले मात्रै हेर्ने होला ? यो किताब पढ्दै जाँदा सँगसँगै यी र यस्ता बग्रेल्ती प्रश्नहरुको लस्कर नै लाग्यो मनमा ।
हुन त म धेरै पुस्तक पढ्दिन । तर डा. केसीको कृति शून्यको मूल्य पढ्दा लाग्यो साँच्चै आमाहरूको साहस अनि स्नेहको तुलना कुनै कुरासँग पनि छैन । तर, आमाहरूमा राज्यले किन लगानी गरिरहेको छैन ? कर्णाली अनि सुदूरपश्चिम प्रदेशमा थप जोड दिँदै समग्र आमालाई राज्यले लगानी कहिले गर्ने ?
कर्णालीका धेरै महिलाले त नामसम्म पनि पाएका छैनन् । ठाउँ अनुसार जन्मको ३ दिन, ५ दिनलगायतमा गरिने न्वारनमै नामाकरण गरिन्छ तर कर्णालीका महिला भेडिनी कान्छी, बुधेकी फुपूआमा, पुतली आमालगायतका नामबाट बाँचिरहेका छन् । जानेर, नजानेर आफ्नो सन्तानका लागि मरिमेट्ने सबै आमाप्रति गहिरो सम्मान अनि सबै आमाको वेदनालाई बुझेर स्वास्थ्य सेवा प्रवाह गर्ने र शून्यको मूल्य मार्फत हामी सबैमाझ पस्किनुहुने डा. नवराज केसीको यो प्रयासले विकासलाई एउटा नयाँ ढङ्गले हेर्नुपर्नेमा जोड दिएको छ । हामीले शुन्य भनेर गन्तिमै नराखेको आमामा लगानीको विषय कसरी सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने थाहा पाउन एकपटक यो पुस्तक पढ्नै पर्छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९, १४:२३