काठमाडौँ । आगामी वैशाख १० मा प्रतिनिधि सभाको उपनिर्वाचन हुने बारा, तनहुँ र चितवनमा आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।
निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय गरेको हो ।
आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता कार्यान्वयनका लागि अनुगमनमा कडाइ गरिने बताउनुभयो ।
आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्नगराउन नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नगराउनको लागि आवश्यक व्यवस्था मिलाउन बारा, तनहुँ र चितवन जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि भएको छ ।
उम्मेदवारले खर्च गर्न पाउने अधिकतम खर्चको हद तोकी सकिएको हुँदा सो हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सूक्ष्म निगरानी गरी लिखित एवं मौखिक जानकारी गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९, ०७:२८