सङ्घमा फेरिएको सत्ता समीकरणले प्रदेशमा पनि राजनीतिक हलचल ल्यायो । एमाले नेतृत्वमा रहेका गण्डकी र लुम्बिनी सरकारले समर्थन गुमाएका छन् भने मधेस सरकारबाट एमाले बाहिरिएको छ । कर्णालीमा पनि एमाले सरकारबाट बाहिरिने सङ्घार मा छ । तर केही दिन अघि मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएर एमालेले राजनीतिक चाल चलेको टिप्पणी भइरहेको छ । एमालेको यो चालले कर्णालीका मुख्यमन्त्रीलाई सजिलो बनाएको छ कि अप्ठेरो ? कर्णालीको सत्ता समीकरणको विषयमा साथी राजन रुचालले मुख्यमन्त्री राजकुमार शर्मासँग गरेको कुराकानीको सम्पादित अंश ।
सङ्घको राजनीतिक समिकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ, कर्णाली प्रदेश सरकारबाट पनि अब एमाले बाहिरिन्छ कि सँगै लिएर जानु हुन्छ ?
अब अहिलेको अवस्था हेर्दा, चुनावमा जसरी जनमत प्राप्त भयो त्यसले दलहरूलाई मिलेर जान सङ्केत गरेको छ । तर राजनीतिक रूपमा विकसित परिस्थितिले त्यो कुरा सम्भव देखिँदैन । त्यही भएर हामीलाई अलिकति अप्ठेरो चाहिँ छ । के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।
मधेसका मुख्यमन्त्रीले एमालेका तर्फबाट बनेका मन्त्रीलाई सरकार छोड्न आग्रह गरेको जस्तै कर्णालीमा पनि त्यस्तै अवस्था आउने हो कि ?
मलाई लाग्छ, त्यसरी बाहिर जानुस् भनेर भन्नु पर्ने दिन आउँदैन ।
मतलब, आफैँ बुझेर छाड्नुस् भन्न खोज्नुभएको ?
अब केन्द्रीय नीतिले त त्यही नै देखाउँछ । तर जनादेश त्यस्तो छैन । हामीले मिलेरै काम गर्नुपर्ने भन्ने छ । किनकि स्पष्ट बहुमत कसैको छैन । तर जनादेशको मात्रै कुराले पनि भएन । हामी त पार्टीसँग जोडिएका छौँ । अब यो विषयमा पार्टीले जे निर्णय गर्छ, हामीले त्यसै अनुसार गर्नुपर्ने हुन्छ ।
पार्टीको केन्द्रीय नेतृत्वको निर्देशन चाहिँ के छ त ?
आदेश त तपाईँहरूले देखिसक्नुभएको छ नि केन्द्रमा ।
तपाईँलाई एमालेले किन विश्वासको मत दियो होला, मित्रता मात्र कि कुनै स्वार्थ पनि छ ?
सरकार बनाउँदै गर्दा, एमाले नै प्रस्तावक थियो । उहाँहरू सरकारमा भइरहेकै बेलामा मैले विश्वासको मत मागेँ, उहाँहरूले दिनुभयो । त्यस्तो केही स्वार्थ छ जस्तो मलाई लाग्दैन । उहाँहरूसँग त्यस्तो सहमति केही पनि भएको छैन ।
काँग्रेससँग चाहिँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो ?
सङ्घमा पनि आलोपालोको कुरा त भएकै छ । प्रदेशमा पनि त्यसै अनुसार सरकारको नेतृत्व फेरिन सक्छ । हामीले निरन्तर छलफल गरेर यस्ता विषय टुङ्ग्याउँछौँ ।
एमाले सरकारमा रहिरह्यो भने दुई वर्षपछि सरकार छोड्नु पर्दैन कि भन्ने तपाईँको सोचाई हो ?
राजनीतिमा मैले त्यतिसम्मको बेइमानी गर्दिन । दुई वर्षपछि नै भन्ने कुरा त भएन । अघिपछि हुनसक्छ । तर आलोपालोमै हामी कर्णाली प्रदेश सरकार चलाउँछौँ ।
प्रदेश सरकारलाई अझै पूर्णता दिन सक्नुभएको छैन । सरकारले पूर्णता नपाउँदा काममा कति बाधा भएको छ ?
यो राजनीतिक गज्याङमज्याङले अलिकति अप्ठेरो नै पारेको छ । एक ढङ्गले काम गरिरहेको बेला अर्कोलाई ल्याएर राख्नु पर्दा त स्वतः अप्ठेरो पर्ने नै भयो । हामीले योजना अनुसारको काम गर्न पाएका छैनौँ ।
विस्तृत कुराकानी- कर्णाली प्रदेश सरकारबाट विना दवाव एमाले बाहिरिनु पर्ने मुख्यमन्त्रीको चाहाना | CM Rajkumar Sharma | - YouTube
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९, १३:१४