तेह्रथुम । नेपाली कांग्रेसका पुराना नेता तेजमान तुम्बाहाम्फेको निधन भएको छ । १९८१ सालमा जन्मिएका तुम्बाहाम्फेको शुक्रबार राती म्याङलुङमा निधन भएको हो ।
बीपी कोइरालाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति सदस्य रहेका तुम्बाहाम्फे २०१५ सालको निर्वाचनमा तत्कालिन निर्वाचन क्षेत्र नम्बर २६ (धनकुटा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
२००६ सालमा कांग्रेसमा आबद्ध हुनुभएका तुम्बाहाम्फेले २००७ सालको क्रान्तिमा पूर्वि भेगमा आदिवासी जनजाति समुदायको नेतृत्व गर्नुभएको थियो।
काँग्रेसका नेताहरु बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुसँगै राजनीतिमा सक्रिय उहाँ राजा महेन्द्रले २०१७ सालमा संसद् विघटन गरेपछि एक वर्ष निर्वासनमा विताएको उहाँको परिवारले जनाएको छ । २०३६ सालको जनमतसंग्रह र २०४६ सालको आन्दोलनमा उहाँको सक्रिय भूमिका थियो । उहाँ लामो समयदेखि सक्रिय राजनीतिमा नभए पनि जिल्लाका सबै राजनीतिक दलको अभिभावका रुपमा रहनुभएको थियो ।
नेता तुम्बाहाम्फेको निधनमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र चैत २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९, १७:२७