काठमाडौँ । सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङको टरिगाँउ विमानस्थल विस्तार गर्न र कोइलावास नाका सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विमानस्थलको विस्तार, सुदृढीकरण र नियमित जहाज सञ्चालनको व्यवस्था गर्न र आगामी बजेटमा विमानस्थलका लागि बजेट विनियोजन गर्न पनि माग गर्नुभयो । ‘यो विमानस्थलको रन वे विस्तार र हवाई सेवा नियमित बनाउन आगामी बजेटमा यथोचित व्यवस्था गर्न म सरकारसँग अपिल गर्दछु’ उहाँले भन्नुभयो ‘यो विमानस्थल नियमित सञ्चालनमा आयो भने पश्चिम नेपालका आम नागरिकलाई धेरै सेवा सुविधा पुग्नेछ।’ यो विमानस्थललाई नेपालगन्ज विमानस्थलको विकल्पका रूपमा विकास गर्न सकिने पनि उहाँले बताउनुभयो । पटक पटक बजेट योजनामा राखिए पनि विमानस्थलको विस्तार र सुदृढीकरण हुन नसकेको भन्दै अब जनतालाई ढाँट्ने काम नगर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
२०११ सालदेखि नै सञ्चालनमा भए टरिगाउँ विमानस्थलमा नियमित जहाज नचल्दा दाङलगायत केही पहाडी जिल्लाका यात्रुलाई नेपालगन्ज वा भैरहवा पुग्नुपर्ने बाध्यता छ ।
दक्षिणी दाङमा रहेको कोइलावास नाका सञ्चालनमा ल्याउन माग गर्दै यसका लागि भारत सरकारसँग पहल गर्न उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो । ‘केही दिनमा प्रधानमन्त्रीको भारत भ्रमण सुरु हुँदैछ। त्यस क्रममा दाङको कोइलावास नाका सञ्चालनका लागि भारत सरकारसँग पहल गर्नुहुन आग्रह गर्दछु’ सांसद गिरीले भन्नुभयो ।
कुनै बेला नेपालकै प्रमुख भन्सार नाका मानिने कोइलावास नाका करिब पाँच दशकदेखि बन्द छ । पश्चिम नेपालको एउटा प्रमुख आर्थिक केन्द्र बनेको कोइलावास र पूर्वपश्चिम राजमार्ग अहिले पिच बाटोले जोडिइसकेको छ। ‘त्यो नाका किन बन्द भयो ? कुनै बेला पश्चिमका जनताले नुन र सुनको व्यापार गरेर देशको प्रमुख आर्थिक केन्द्र बनेको कोइलावास नाका सञ्चालनमा ल्याउन सरकार आवश्यक पहल गरोस्’ उहाँले भन्नुभयो ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूले त्यो कुरा प्रमुखता दिएर उठाउनुपर्छ ।’
प्रतिनिधिसभाको बैठकमा जनप्रतिनिधिले उठाएका सवालको जवाफ दिनुपर्ने पनि सांसद गिरीले माग गर्नुभयो । उहाँले भन्नुभयो- ‘हामी जनप्रतिनिधिले विशेष समय लिएर जनताका धेरै समस्या राखेका हुन्छौ । देशको चिन्ता गरेका हुन्छौँ। तर त्यसको जवाफ कसले दिने हो?’ उनले भने ‘सरकारका तर्फबाट सांसदहरूलाई जवाफ दिनका लागि नियमित जिम्मेवारी तोकिनुपर्छ ।’
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९, १६:१३