काठमाडौँ । नेपालका सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल र भारतका सामुदायिक रेडियोहरूको सङ्गठन (सीआरए) बीच सहकार्य गर्ने सहमति भएको छ ।
लतिपुरस्थित अकोराबको कार्यालयमा सामुदायिक रेडियोको दिगोपनका लागि नेपाल र भारतका सामुदायिक रेडियोबीचमा गर्न सकिने सहकार्यको छलफलपछि अकोराबका अध्यक्ष अर्जुन गिरी र भारतका सामुदायिक रेडियोहरुको सङ्गठन सीआरएका अध्यक्ष डा. ब्रिजेन्द्र सिंह पवाँरले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
भारतका सामुदायिक रेडियोहरूको सङ्गठनका अध्यक्षलगायत तीन सदस्यीय प्रतिनिधि मण्डललाई अकोराबले स्वागत गरेको थियो ।
स्वागत मन्तव्य राख्दै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष गिरीले नेपालमा सामुदायिक रेडियोको इतिहास भारतको भन्दा लामो भए पनि सामुदायिक रेडियोको स्पष्ट नीति बनिनसकेको बताउनुभयो ।
नेपाल र भारतका सामुदायिक रेडियोले गर्दै आएका राम्रा अभ्यास र चुनौतीका बारेमा आगामी दिनमा अनुभव आदानप्रदान गर्न सके सिकाइ हुने उहाँको धारणा थियो ।
सीआरएका अध्यक्ष पवाँरले नेपालका सामुदायिक रेडियोबाट भारतका सामुदायिक रेडियोले धेरै सिक्न सक्ने भएकाले दुई देशका सङ्गठनबीच सिकाइ आदानप्रदानका लागि सहकार्य हुनुपर्ने बताउनुभयो ।
भारतीय प्रतिनिधि मण्डललाई सामुदायिक रेडियो प्रसारक संघ एवं सीआईएनका व्यवस्थापक दीपक आचार्यसहितको टोलीले सामुदायिक रेडियोहरुको अवलोकन भ्रमण गराएको थियो ।
सीआएको प्रतिनिधिमण्डलले काभ्रेको बनेपामा रहेको सामुदायिक रेडियो प्राईम एफएम र भकुण्डेबेसीमा रहेको रेडियो रोशीको भ्रमण गरेको छ ।
रोडियो प्राईमका अध्यक्ष एवं धुलिखेल नगरपालिकाकाका प्रमुख अशोक बेन्जु र रेडियो रोशीका संस्थापक अध्यक्ष एवं रोशी गाउपालिकाका प्रमुख दिनेश लामाले पनि सीआरए र सामुदायिक रेडियो प्रसारक संघबाट पुगेका प्रतिनिधि मण्डललाई स्वागत गर्दै, स्थानीय पालिकाले रेडियोलाई सहयोग गरिरहेको जानकारी गराउनुभयो ।
स्थानीय सरकार र सामुदायिक रेडियोबीच भएको सहकार्य र सफल अभ्यासका बारेमा त्यसक्रममा अन्तरक्रियासमेत गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९, ११:००