काठमाडौं । बैतडी र सिन्धुलीमा गयराति भएका सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा गयराति साढे ११ बजेतिर जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षका मने बोहरा, सोही ठाउँका ४२ वर्षका नरे बोहरा, ३५ वर्षका गोरख बोहरा, ४५ वर्षका मानबहादुर धामी, ४५ वर्षका बिर्ख धामी र ४० वर्षका बिरे धामी रहेका छन् । दुर्घटनामा परी मृत्यु हनेहरू सबै एकै गाउँका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले बताउनुभयो । डीएसपी शाहीका अनुसार मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरी विसु पर्व मनाउन घर फर्किंदै थिए ।
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । जिपमा यात्रारत अन्य ५ जना सकुसल रहेका छन् । उनीहरूले जिप सडकबाट खस्ने क्रममा हामफालेका थिए । चालक अर्जुन बोहरा भने सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गयराति १२:३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिनुभयो । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, ०७:५५