जुम्ला । २०७७ असोज अन्तिम साता रिपोर्टिङका लागि जुम्लाको पातारासी गाउँपलिका जाने निधो भयो । विश्वको सबभन्दा अग्लो ठाउँमा मार्सी धान फल्ने भनेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा दर्ता भएको ठाउँ हो, पातारासी । मानव शास्त्री प्राध्यापक डोरबहादुर विष्टले शिक्षाको जग बसालेको ठाउँ पनि हो, यो ।
कोटाभिर छिचोल्दै लासी बजार उक्लिएर समुद्री सतहबाट २४०० मिटर उचाइमा ठूलो फाँट देख्दा स्वर्गको छेउ पुगेको महसुस भयो । गाउँ–गाउँ घुम्दै जाँदा तल्फी गाउँमा पुगियो । तल्फीवासीको सत्कार र आत्मीयताले दिनभरको पैदल यात्राको थकान गायब बनाइदियो ।
उसिनेको रैथाने आलु र अचारको स्वाद लिँदै गफिने क्रममा घरबेटी युवकले पातारासीको ‘पुरानो विवाह परम्परा’बारे सुनाए । जसअनुसार युवती या किशोरीहरूलाई जहाँ भेट्यो, त्यहीँबाट तानेर लगिन्छ । नेपालका कतिपय आदिवासी जनजाति समुदायमा पहिला यस्तो चलन रहेको सुनिएको थियो । जुम्लाका खस समुदायमा पनि यो अभ्यास रहेको सुन्दा अनौठो लाग्यो ।
गोठालो, दाउरा–घाँस, मेलापात या पानी पँधेरामा गएका किशोरी युवतीलाई तानेर (अहिलेको भाषामा अपहरण गरेर) केटाको घर लगी जबरजस्ती विवाह रच्ने चलन जुम्लाको यो भेकमा अहिले पनि जीवित छ भन्दा अचम्म लाग्यो । घरबेटी युवकले हामीलाई पछिल्लो समयमा भएका त्यस्ता घटनाको फेहरिस्त नै सुनाए, जसलाई अझै पनि सामाजिक मान्यता रहेछ ।
उनका अनुसार, २०७७ जेठमा पातारासी–३, महरी गाउँकी एक किशोरीलाई बाटोबाट तानेर लगी जबरजस्ती विवाह गरियो । त्यसको दुई महिनापछि पातारासी–२ मा पर्ने यही तल्फीका युवकले हुरी गाउँकी युवतीलाई तानेरै जबरजस्ती विवाह गरेका रहेछन् ।
हामी पुगेको केही दिनअघि मात्र तानिएकी पातारासी–३, छुमकी एक किशोरीले भने यस कुरीति विरुद्ध डटेर विद्रोह गर्नुभएको रहेछ । उहाँले आफूलाई अपहरण र विवाह गर्न खोज्ने युवक र आफ्ना साथीहरू विरुद्ध प्रहरीमा जाहेरी समेत दिनुभएको रहेछ ।
घरबेटी युवकले बताए अनुसार, गत असोज १० गते बेलुका घर फर्कँदै गरेकी छुम गाउँकी १९ वर्षीया सपना बोहोरा (परिवर्तित नाम) लाई छिमेकी गाउँका डिलबहादुर बोहोरासहित ५–६ जनाको समूहले जबरजस्ती तानेर लगी आफन्तको घरमा थुनेर राखे । तेस्रो दिन उहाँलाई डिलबहादुरको घरमा जबरजस्ती भित्र्याइको रहेछ ।
भागेर गाउँ पुगेका ती आफन्तले सपनाका दाइलाई घटनाबारे जानकारी दिएपछि सपनाका दाइ बहिनीको खोजीमा निस्किए । बहिनीलाई लगिएको घरमा समेत पुगे पनि त्यहाँ काेही थिएन । ‘बहिनीलाई जबरजस्ती बोकेर गाउँभन्दा धेरै टाढा लगिसकेका रहेछन्, मैले भेट्टाउन सकिनँ’, सपनाका दाइले भन्नुभयो ‘भोलिपल्ट गाउँका जान्ने–बुझ्ने चार गाउँले लिएर फेरि त्यही घरमा पुगेँ, दिनभरि सडकमा उभ्याए, बहिनी देखाऊ, ऊ खुसी छ कि छैन ? सोध्छु भन्दा देखाएनन् ।’ उहाँले राति ४ बजे प्रहरीलाई खबर गर्नुभयो । प्रहरी त्यहाँ पुगे पनि केही गरेन । भोलिपल्ट १० बजे उहाँकी बहिनीलाई गाउँ छेवैको चौरमा ल्याउने र छलफल गर्ने भनिए पनि वडाध्यक्षको व्यस्तता देखाएर त्यस्तो गरिएन।
पछि पातारासी–३ का वडाअध्यक्ष कन्न बोहोराको उपस्थितिमा केटा र केटी पक्षबिच सम्झौता भयो । सपनालाई ‘खुसी छु’ भन्न दबाब दिइएको रहेछ ।
सामुदायिक रेडियो खुला आकाश जुम्लाबाट पत्रकारिता जगतमा पाइला टेकेको एक वर्ष पुग्दै थियो । त्यति बेला भर्खरै सामुदायिक सूचना नेटवर्क सीआईएनमा रिपोर्टहरू बज्न थालेका थिए । मलाई यो विषयले धेरै नै छोयो । समाजको कुरीतिका रूपमा रहेको यस्तो अभ्यासबारे रेडियो मार्फत धेरैलाई जानकारी दिन सक्नुपर्छ भन्ने लाग्यो । यसबारेमा सीआईएनबाट रिपोर्ट बजेपछि प्रशासन, पालिका र सरोकारवालाको ध्यानाकर्षण भयो । यसलाई निर्मूल पार्न अभियान थाल्ने उद्घोष गरियो । तर समय बित्दै जाँदा कुरा सेलाउँदै गयो । ठोस कदम चालिएन ।
२०७९ सालको स्थानीय निर्वाचनपछि पातारासीका उपाध्यक्ष जनमाया रोकायासँग अन्तर्वार्ता गरें । उहाँले महिलाको सामाजिक र आर्थिक रूपान्तरणमा आफ्नो ध्यान जाने कुरामा जोड दिइरहँदा मैले साढे २ वर्ष पहिलेको घटनाबारे बताउँदै उक्त ‘जङ्गली परम्परा’ अन्त्य गर्न सुझाएँ । सुझावलाई मनन् गर्दै अहिले पातारासी गाउँपालिकाले परम्परागत हानिकारक अभ्यास विरुद्ध सचेतनाको अभियान सञ्चालन गरिरहेको छ । बस्ती–बस्तीमा पुगेर कुरीति विरुद्ध सचेतना फैलाउने, कानुनी व्यवस्थाबारे ज्ञान बाँड्ने अभियानको थालनी भएको छ ।
ढिलै भए पनि एउटा सामुदायिक रेडियोले उठान गरेको जङ्गली परम्परा विरुद्ध स्थानीय सरकारले अभियान थालेको देख्दा सन्तुष्टि मिलेको छ । यसले रेडियोकर्मीको भूमिकामा समुदायका राम्रा कामको संरक्षण र गलत प्रथाको अन्त्यका लागि सधैँ लागिरहन प्रेरणा मिलेको छ ।(रेडियो खुला आकाश जुम्ला)
(सामुदायिक रेडियो प्रसारक संघ सीआईएनको साधारणसभाको अवसरमा प्रकाशित स्मारिकाबाट)
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, ११:५०