रेडियो भनेको आवाज सुनाउने माध्यम हो । रेडियोमा सुनेका कुरा श्रोताको मनमा चित्र बनेर बस्दछ । रेडियो माध्यमको सबभन्दा ठुलो शक्ति या विशेषता नै यही हो । ताररहित सुनाउने माध्यम अर्थात् रेडियोको आकार प्रकार बदलिँदै आए पनि मानिसको मनमा रेडियो सेटको एउटा आकृति बसेको छ । यो आकृति बन्न करिब १०० वर्ष लागेको छ ।
सुरुमा यति सानो रेडियो सेटभित्र बसेर मान्छे कसरी बोल्छन् भनेर सुन्नेहरू अचम्ममा पर्थे । पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सानो छँदा भित्रका मान्छे हेर्न रेडियो खोलखाल पारेर बिगारेको गत वर्ष एउटा औपचारिक कार्यक्रममा सुनाउनुभएको थियो ।
पछिल्ला दिनमा सूचना प्रविधिको फड्कोले रेडियोको यस्तो आकृति हराउने हो कि भन्ने चिन्ता सुरु भएको छ । यससँगै श्रोता घटेर रेडियोको उपादेयता सकिने हो कि भन्ने पनि छ । यस्तो बेला अबका सम्भावना के हुन सक्लान् भन्नेमा यो आलेख केन्द्रित छ ।
माध्यम त समयसँगै फेरिँदै जान्छन् । सूचना वा सन्देशका लागि हिजो डाँक सेवाको युग थियो अनि ढोल पिट्ने समय आयो । त्यसपछि लाउड स्पिकरको हुँदै रेडियो सेटको समय आयो । हाते रेडियो सेटसम्म आइपुग्दा एअर फोन जोडेर सुन्न मिल्ने रूपमा बदलियो । आवाज कहाँबाट र कसरी आउँछ, प्राविधिक कुरा हो । मूल कुरा त्यो आवाज कसले, किन र कसका लागि बनाउँछ भन्ने हो ।
यसरी सोच्न थाल्दा रेडियो माध्यमको भविष्यको चिन्ता भन्दा बढी हामी रेडियोकर्मीले अहिले गरिरहेको भूमिकाको लेखाजोखा गर्नु जरुरी लाग्छ । हो, हाम्रो कामको समीक्षा जरुरी छ । यो नै आजको आवश्यकता हो ।
हिजोआज रेडियो सेट मात्र बेच्ने पसल देखिँदैनन्, तर ब्याट्री हाल्न नपर्ने हरतरहका रेडियो सेट बजारमा पाइन्छन् । अडियो सुनाउन अरू थुप्रै विकल्प थपिएका छन् । खासमा रेडियो सेटका विकल्प बढेका छन् । सवाल यिनको उपयोग कसरी गर्ने ? श्रोताका लागि के दिने वा चाहिएको के हो ? भन्ने हो । यी सवालमा घोत्लिन थाल्दा यो विधा युग–युग बाँचिरहन्छ भन्नेमा शङ्का लाग्छ ।
अमेरिका, बेलायत, इटली, नर्वे जस्ता विकसित देशहरूमा रेडियोको स्वर्ण युग छ अहिले । त्यहाँका ठूल्ठूला कम्पनीहरूले रेडियो माध्यममा डिजिटल प्रविधिका लागि लगानी बढाइरहेका छन् । त्यहाँ त रेडियो मिडिया ‘डेट एक्सपायर’ भएको छैन भने हाम्रो जस्तो अन्य मिडियालाई तल्लो तहमा पुग्न कठिन भूगोल, साक्षरता दर र गरिबी भएको मुलुकमा रेडियोको भविष्यबारे चिन्ता गर्नुपर्ने कुरै होइन ।
संसारभर रेडियोलाई गरिबको आफ्नो मिडिया मानिन्छ । सस्तो उपकरणमा निःशुल्क सुन्न सकिने चिज हो, रेडियो । पत्रिका पढ्न, टेलिभिजन हेर्नभन्दा सजिलो पनि छ रेडियो सुन्न । अरू काम गर्दै पनि रेडियो सुन्न सकिन्छ । कामकाजीका लागि यो बढी सहज छ, त्यसैले संसारभर यो मिडिया लोकप्रिय छ र लोकप्रिय नै रहनेछ ।
रेडियोको भविष्यमाथिको प्रश्न अहिले असामयिक र निरर्थक पनि छ । समस्या यो माध्यममा होइन, हामी रेडियोकर्मीको योग्यता, हामीले प्रस्तुत गर्ने सामग्री र हाम्रो व्यवस्थापनमा छ । रेडियो सम्बन्धी कार्यक्रमहरूमा यस्तो छलफल सुरु नभएको होइन । तर, सुधारका लागि रेडियो सञ्चालकको आफ्नै बुताले पार लगाउन नसकेको, छाता संस्थाहरूले दिशा दिन नसकेको र सरकारले अभिभावकीय दायित्व लिन नचाहेको हुनाले ‘जति हिँडे पनि उही ठाउँमा’ भनेजस्तो हुन गएको चाहिँ पक्कै हो ।
हो, नेपालमा एफएम रेडियोको विकासमा समस्या र चुनौती धेरै छन् । यीमध्ये एफएम रेडियोको सङ्ख्या नै मुख्य चुनौती हो । एउटा सानो सहरमा दर्जनभन्दा बढी रेडियो खुलेका छन् । सूचना तथा प्रसारण विभागको पछिल्लो तथ्याङ्क अनुसार, हालसम्म ११ सय ८० वटा रेडियोले इजाजत लिएका छन् । इजाजत लिएकामध्ये १ हजार जति रेडियो सञ्चालनमा आए । सञ्चालनमा आएकामध्ये पनि ३०० जति रेडियो बन्द छन् । यकिन तथ्याङ्क नभए पनि हाल ७०० भन्दा बढी रेडियो प्रसारणमा रहेको अनुमान छ ।
नेपालमा वार्षिक रु.२० अर्ब हाराहारीको विज्ञापन बजार रहेको अनुमान छ । यसमध्ये करिब १० प्रतिशत मात्र रेडियोको भागमा पर्छ । अर्थात्, रेडियोको सङ्ख्या बजारले थेग्न सक्नेभन्दा बढी छ । यसले गर्दा रेडियो सञ्चालकहरूले मुख्यतः आर्थिक र जनशक्तिको समस्या भोग्दै आएका छन् । र, रेडियो बन्द हुने क्रम जारी छ ।
नेपाल गणतन्त्र हुनुभन्दा अघिसम्म रेडियोको भौतिक संरचना र ‘कन्टेन्ट’ दुवैमा दातृ संस्थाहरूको साथ थियो । ‘कन्टेन्ट’मा त कोरोना महाव्याधि अघिसम्म पनि उनीहरूको यस्तो साझेदारी रह्यो । अहिले यो पनि सुक्ने क्रममा छ । काठमाडौँबाट आउने व्यापारिक विज्ञापन पनि पछिल्लो आर्थिक मन्दीका कारण सुकेपछि रेडियोहरूका लागि स्थानीय स्रोत एक मात्र विकल्प बनेको छ । स्थानीय बजारले कति रेडियो बचाउन सक्छ, अबका एकाध वर्षमै प्रष्ट होला ।
अब विकल्पका कुरा गरौँ । पङ्क्तिकारले तीन विकल्प– विषय केन्द्रित भएर आफ्ना श्रोता अनि स्रोत पहिल्याउने, ‘मर्जर’ वा ‘एक्विजेसन’मा जाने र ‘कन्टेन्ट’ उत्पादन तथा प्रसारणमा साझेदारी गरेर उत्पादन खर्च घटाउने उपाय सुझाउँदै आएको छ ।
चौथो उपाय भनेको रेडियो नभएको ठाउँमा सार्ने हो । रेडियोको स्थान परिवर्तन श्रोताका हितमा पनि छ । संघीय प्रणाली अनुसार स्थानीय सरकार बनेपछि स्रोतका धेरै अवसर गाउँ पुगेका छन् । सहरमा उस्तै खालका दर्जन रेडियो चाहिएकै छैन । स्रोतको लुछाचुँडी भने शहरमै छ ।
त्यसैले, पालिका वा साना सहरमा रेडियो सार्दा नयाँ स्रोतमा सहजता बढ्छ । श्रोताको पक्षबाट हेर्दा यो उत्तम विकल्प र आवश्यकता पनि हो । कैयौं ठाउँमा रेडियोको सिग्नल नपुगेको र कहीँ जुधेको अवस्था त छँदैछ ।
विषय केन्द्रित हुने
अहिले सबैजसो रेडियोका कार्यक्रमको नाम, शैली, विषय उस्तै छन् । समाचार बुलेटिनको संरचना र प्रस्तुति उही छन् । रेडियोहरूले कुनै विषयमा पनि ‘फोकस’ गर्न सकेका छैनन् । एकै शैली र बान्कीका सामग्री पस्किरहेका छन् । शहरभरि रेडियो छन्, तर सुन्ने श्रोताका लागि फरक विषय, शैली र स्वाद छैन ।
काठमाडौँमा मनोरञ्जन र त्यसमा पनि हास्यव्यङ्ग्य चलेझैँ अरू ठाउँमा रेडियो सामग्रीलाई विविध सामाजिक–आर्थिक र अन्य ‘थिम’मा फोकस गरे श्रोतालाई स्वाद फेर्ने विकल्प मिल्थ्यो । त्यसले आर्थिक स्रोतका नयाँ आयाम खुला हुने सम्भावना बढाउँथ्यो । लक्षित श्रोता सुहाउँदो प्रसारण सामग्री उत्पादन भएर सामुदायिक रेडियो हुनुको दायित्व पनि पूरा हुन सक्थ्यो ।
‘मर्जर’मा जाने
रेडियोहरू मिसिएर सङ्ख्या घटाउने, गुणस्तर बढाउने गर्न सकिन्छ । यसो गर्दा जनशक्ति पनि तिखारिन्छ । विचार विविधताका कारण रेडियो ‘मर्ज’ कठिन होला, तर असम्भव छैन । अस्पष्टता, अन्योल र प्रतिकुलताबिच धेरै रेडियो, तिनका अगुवा वा कार्यरत जनशक्तिले गरेको महत्त्वपूर्ण उपलब्धि, सिकाइ र देशभरका झन्डै एक हजार रेडियोमा भएको करिब चार अर्ब लगानी अनि यसमा आबद्ध लगभग १० हजार जनशक्तिको रक्षाका लागि यथास्थिति विल्कुलै अनुकूल छैन ।
वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैङ्क, हवाई सेवा क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण भएजस्तै विद्युतीय सञ्चारमाध्यमको नियामक नहुनाले एकातिर रेडियोहरूमा सुधार गर्न दबाब छैन । त्यसैले पनि ‘मर्जर’ लगायत सामयिक पहल हुन सकेको छैन । ब्याङ्कहरू धमाधम मर्ज हुन सक्छन् भने रेडियोहरू पनि हुन्छन् । यसका लागि सुविधा र प्रोत्साहन भने चाहिन्छ ।
कन्टेन्ट साझेदारी गर्ने
राम्रो कन्टेन्ट दिन रेडियोकर्मीहरूको दक्ष टिम चाहिन्छ । दक्ष टिमका लागि लगानी चाहिन्छ । कम आम्दानीबाट लगानी गर्न सकिन्न । अनि राम्रो कन्टेन्ट दिन सकिने कुरै भएन । यो अवस्थामा भाषा, क्षेत्र वा विषय मिल्ने रेडियोहरूले कन्टेन्टमा साझेदारी गर्न सक्छन् । यसो गर्दा कम लगानीमा राम्रो कार्यक्रम वा समाचार प्रसारण सम्भव हुन्छ ।
एउटा रेडियोको राम्रो टिमले गरेको उत्पादन अरू रेडियोमा सित्तैँमा लिने–दिने गर्नाले दुवै पक्ष लाभान्वित हुन्छ । खास लाभ श्रोतालाई हुन्छ । श्रोता लाभान्वित भएको अवस्थामा रेडियोको भविष्य यसै राम्रो, उसै उज्यालो हुन्छ ।
नेपाललाई भाषिक–सांस्कृतिक विविधतासहित सूचनामा जोड्ने रेडियोको साढे दुई दशकको लगानी जोगाउन पनि सम्बद्धहरूले चिन्ता र शीघ्र पहल लिन जरुरी छ । विकल्प अरू पनि हुन सक्छन् । संवाद, छलफलबाट अरू धेरै उपाय निकाल्न सकिन्छ । रेडियो सञ्चालक स्वयम्, रेडियोहरूका छाता संस्था र तालुकदार मन्त्रालय नयाँ–नयाँ विकल्पको खोजीमा नजुटे एफएम रेडियोहरू फराकिलो भविष्यतिर लम्किन सक्ने देखिँदैन ।
रेडियो विधाको सबभन्दा ठुलो तागत भनेको रेडियोले गल्ती कुरा गर्दैन भन्ने मान्यता जोगाइराख्न सक्नु हो । महाभूकम्प, कोरोना व्याधि जस्ता अप्ठ्यारामा रेडियोले खेलेको भूमिका हर नेपालीलाई सम्झना छ । बाह्य नाकाबन्दीका बेला देशका सेना–प्रहरीले चलाएका पेट्रोल पम्प जस्तै हुन् रेडियो, ऐन बखतमा अत्यावश्यक । हामी रेडियोकर्मीले आफ्नो शैली र सामग्रीबारे सोच्यौँ भने अवस्था राम्रो हुनसक्छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, १२:१४