अवस्था अध्ययनः
रेडियो सञ्चालनको कल्पना गर्नासाथ पहिलो प्राथमिकतामा राखेर गर्नुपर्ने काम हो– रेडियो सञ्चालन गर्ने सम्भावित क्षेत्रको जनसाङ्ख्यिक विवरणको बारेमा जानकारी सङ्कलन गरी विश्लेषण गर्नु ।
रेडियोको प्रसारण स्थल आसपास बसोबास गर्ने समुदायको उमेरगत, जातिगत, धार्मिक तथा सांस्कृतिक, भाषागत, लैङ्गिक पहिचानको विवरण प्राथमिक काम हुन आउँछ ।
स्थानीय परम्परा, संस्कार–संस्कृति मान्ने मानिसहरूको छुट्टाछुट्टै विवरण, आर्थिक सम्भाव्यता लगायत तथ्याङ्कीय जानकारी अपरिहार्य हुन्छ । यो केवल तथ्याङ्क मात्र नभएर रेडियोले प्रसारण गर्ने कार्यक्रमको योजना तर्जुमा गर्दा नभई नहुने आधारभूत जानकारी हो।
हाल सञ्चालनमा रहेका अधिकांश रेडियोले तजबिजी रूपमा आफ्ना विषयवस्तु उत्पादन तथा प्रसारण गरिरहेका छन् ।
रेडियोले प्रसारण गरेका विषयवस्तुहरूप्रति श्रोता सन्तुष्टि वा उनीहरूका कस्ता विषयवस्तु सुन्न चाहन्छन् भन्ने बारेमा कहिल्यै सोध्याै कि सोधेनौँ, यो अर्को अहम् सवाल हो ।
मैले जे दिएको छु त्यही सुन्नुपर्छ भन्ने कुराले श्रोतालाई रेडियोबाट झन् टाढा बनाउँछ । तसर्थ समुदायको जातीय, भाषिक, सांस्कृतिक, आर्थिक विविधता र जनसाङ्ख्यिक संरचना तथा वितरण अनुरूप कार्यक्रम योजना गर्न सक्दा मात्र रेडियो र श्रोताबिचमा सुमधुर सम्बन्ध हुन्छ।
तथ्याङ्कको प्रयोग
रेडियोका विषयवस्तुमा जति धेरै समुदायको सहभागिता र अन्तरक्रिया सुनिश्चित गर्न सक्यो, उति नै श्रोताहरू रेडियोसँग जोडिइरहन्छन् । अन्यथा अन्तरक्रिया गर्न सहज हुने मिडियातर्फ स्रोतको आकर्षण बढ्छ नै ।
रेडियोबाट श्रोताले के सुन्न चाहन्छन् भन्नेबारे जबसम्म रेडियो सञ्चालक अनभिज्ञ रहन्छन्, तबसम्म रेडियोले समुदायमैत्री विषयवस्तु प्रसारण गर्न सक्दैनन् ।
तजबिजी प्रसारणले समुदायका आवश्यकता पूरा गर्न सक्दैनन् । तसर्थ रेडियो सञ्चालकले आफ्ना श्रोताको रुचि र समुदायको आवश्यकता थाहा पाउनुपर्छ ।
श्रोताको प्रतिक्रिया, सन्तुष्टि र आवश्यकता पहिचान गर्ने धेरै माध्यम छन् ।
जस्तै: श्रोता सर्वेक्षण, लक्षित समूह छलफल, स्थलगत अवलोकन र श्रोतासँगको अन्तरक्रिया लगायत विभिन्न तरिकाबाट श्रोताका चाहना, रुचि र समुदायको आवश्यकता के कस्तो छ ? वर्तमान मिडिया परिदृश्य कस्तो छ ? रेडियोको प्रभाव र श्रोताको आकार घटबढ भएको छ कि ? रेडियोका लागि समुदायमा विद्यमान पूँजीको अवस्था के कस्तो छ भन्ने बारेमा थाहा पाउन सकिन्छ । तथ्याङ्कले हामीलाई बुद्धिमत्तापूर्ण निर्णयमा पुग्नका लागि मद्दत गर्दछ ।
समुदाय र रेडियोलाई हेर्ने दृष्टिकोण
यहाँ समुदायलाई कुन दृष्टिकोणबाट हेर्दा अवसर देखिन्छ र कुन दृष्टिकोणबाट हेर्दा निराशा देखिन्छ भन्ने बारेमा चर्चा गर्नु महत्त्वपूर्ण हुन्छ । समुदायलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएसम्म अन्योल कायम नै रहन्छ ।
रेडियोका नेतृत्वले समुदायमा अवसर देख्नुपर्छ । सकारात्मक दृष्टिकोण राख्दा रेडियोका लागि सबल पक्ष, सम्भावनाका क्षेत्रहरू, रेडियोका लागि पुँजी के के हुन सक्छन् भन्ने देखिन्छ ।
अवसरको पहिचान गर्नतर्फ लाग्छन् । पहिचान भएका अवसरबाट लाभ लिने प्रयत्न गर्दछन् । आफूले विगतमा गरेका असल अभ्यास, सफलता, सिकाइ, ख्यातिलाई स्मरण गर्दै विगतप्रति गर्व गर्दै आगतका योजनाहरू निर्माण गर्दछन् ।
विगतको पृष्ठभूमिमा आगतको उचाइ नाप्दछन् । हामीले समुदायका लागि यो–यो क्षेत्रमा यसरी योगदान गरेका छौँ ।
तपाईँ यो यात्रामा कहाँनेर साझेदारी गर्न चाहनुहुन्छ वा गर्न सक्नुहुन्छ भनेर समुदायका अन्य सरोकारवालाहरूलाई अपिल गर्दछन् र सहकार्यको सुनौलो सम्भावना सृजना गर्दछन् ।
समुदायसँगको सम्बन्ध र नेतृत्व क्षमताले नै रेडियोलाई समुदायमा स्थापित गर्दछ र रेडियोसँग सहकार्य गर्न बाह्य कर्ता, कार्यतन्त्र, सरोकारवाला र साझेदार पनि आकर्षित हुन्छन् । समुदायले पूर्ण रूपमा रेडियोलाई ग्रहण गर्दछ ।
नकारात्मक दृष्टिकोणले हेर्दा समस्या मात्रै देखिन्छ । रेडियोमा समस्या मात्रै छन् भन्ने भाष्य स्थापित गराउँछ । समुदाय रेडियोमैत्री छैन, बजारले रेडियोलाई सहयोग गर्दैन र बजार र अर्थतन्त्र रेडियोका खिलाफमा छन् भन्ने दृष्टिकोणलाई स्थापित गर्छ ।
जसले कसैको सहयोगविना हामी उठ्न सक्ने स्थितिमा छैनौँ, हामीलाई बाह्य सहयोग जरुरी छ भन्ने जस्ता परनिर्भरता वादी सोच उत्पन्न हुन्छन् । यस लेखमा समाजलाई सकारात्मक दृष्टिकोणले हेर्दा देखिने अवसर र सम्भावना के–कस्ता हुन सक्छन् भन्ने बारेमा चर्चा गरिएको छ ।
सामुदायिक रेडियोका लागि सामुदायिक पुँजी
कथा र गाथाहरू
मानिसका कथा/गाथा रेडियोका महत्त्वपूर्ण विषयवस्तु हुन् । हरेक मानिससँग कथा हुन्छन् । कथा जीवन र जगतका बिम्ब हुन् । मानिसका कथा, गाथा, अनुभव र भोगाइले समकालीन समुदायलाई प्रतिनिधित्व गरेका हुन्छन् । कथा कुनै संयोगान्त हुन्छन् त कुनै वियोगान्त । कुनै कथा व्यक्तिका निजी जीवनसँग सम्बन्धित हुन्छन् भने कुनै कथाले सिङ्गो समाजलाई प्रतिनिधित्व गरेको हुन्छ । कथामा समाजको चरित्र भेटिन्छ ।
समाजको चेतनाको स्तर/समाजले एउटै दृश्यमा गर्ने फरक–फरक व्यवहारदेखि लिएर समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषयवस्तु मानिसले साटासाट गर्ने कथाका भिन्न–भिन्न दृश्य हुन् ।
अहिले पनि परिवार वा समुदायका ज्येष्ठ सदस्यका भोगाइ, अनुभव, तत्कालीन समाजको परिदृश्यका बारेमा उहाँहरूका अनुभवहरू सुन्दा र अहिलेको समाजसँग तुलना गर्दा समाज परिवर्तन र विकासको गतिका बारेमा जानकारी पाइन्छ ।
मानिसले गरेका सङ्घर्षका कथाले सफलता प्राप्तिका लागि गर्नुपर्ने मिहिनेत र परिश्रमका बारेमा सूचित गर्दछ । सफलता प्राप्त गरेका मानिसका कथा÷गाथाले अन्य मानिसमा अभिप्रेरणा पैदा गर्दछ । कति असफलताका कथाले पनि ज्ञान दिइरहेको हुन्छ ।
असफलताका कथाले मानिस सङ्घर्षको यात्रामा कहाँनिर चुक्यो भन्ने ज्ञान दिन्छ र त्यो सिकाइलाई आफ्नो जीवनमा नदोहोर्याउन सूचित गर्दछ । जुन रेडियोले आफू र आफूजस्तै मानिसका कथा÷गाथाहरू दिन्छ, स्रोतले त्यही रेडियो सुन्न रुचाउँछ । किनकि त्यहाँ आफू र आफ्नो प्रतिनिधित्व भएको महसुस गर्दछ ।
समुदायका कथा–गाथामा मानिसले आफ्ना कथाहरू पनि पाउँदछ । जुन रेडियोका श्रोता धेरै छन् स्वाभाविक हिसाबले स्थानीय स्रोत पनि त्यही रेडियोमा केन्द्रित हुने गर्दछ । सामुदायिक रेडियोका लागि समुदाय नै स्रोत हुन् । तसर्थ मानिसका कथा रेडियोका लागि महत्त्वपूर्ण विषयवस्तु र पुँजी हुन् ।
मानिसमा भएका प्रतिभा, सीप र क्षमता
रेडियोको प्रसारण क्षेत्र आसपास बसोबास गर्ने समुदाय नै रेडियोको भौगोलिक कार्यक्षेत्र हो । सूचना प्रविधिको विकाससँगै कार्यक्षेत्र र भौगोलिक सीमाभन्दा फराकिलो भएको छ ।
अहिले रेडियोका सामग्रीहरू सुन्नका लागि रेडियो सेट चाहिने अवस्था छैन । इन्टरनेटको माध्यमबाट विश्वका जुनसुकै ठाउँबाट पनि आफूलाई मन पर्ने रेडियो र कार्यक्रम सुन्न सकिने भएको छ । मानिसमा विभिन्न सीप, क्षमता र प्रतिभा हुन्छन् । यसबारे समुदाय पहिल्यै जानकार नहुन पनि सक्छ ।
कतिपय प्रतिभा, क्षमता र सीपहरू सुषुप्त अवस्थामा व्यक्तिमा मात्रै सीमित भएर रहेका हुन्छन् ।
बाहिर आइसकेका प्रतिभा, क्षमता र सीपहरूलाई थप प्रवर्द्धन गर्नु र व्यक्तिमा मात्रै सीमित भएर रहेका प्रतिभाहरूलाई बाहिर उजागर गर्नु व्यक्ति र समुदायको हितमा हुन्छ । व्यक्तिमा निहित प्रतिभा, क्षमता र सीपहरू समुदायका पुँजी हुन् भने सामुदायिक रेडियोका लागि महत्त्वपूर्ण विषयवस्तु ।
व्यक्तिमा अन्तर निहित प्रतिभा, क्षमता र सीपलाई उजागर गर्न सक्दा सिङ्गो समुदाय नै लाभान्वित हुन्छ । समुदायको हित प्रवर्द्धनलाई सामुदायिक रेडियोहरूले आफ्नो दायित्वका रूपमा लिएका हुन्छन् ।
सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिका प्रतिभा, सीप र क्षमताहरूलाई रेडियोको विषयवस्तुका रूपमा ग्रहण गरी सामग्री प्रसारण गर्दा त्यसले रेडियोका श्रोता र स्रोत दुवैको बढोत्तरीमा योगदान पुग्दछ ।
आफू बसोबास गर्ने समुदायमा के कस्ता प्रतिभा र क्षमता भएका व्यक्तिहरू छन् भन्ने विषय समुदायका हरेक सदस्यहरूको चासोको विषय हो । यसै गरी आफ्नो समुदायमा बसोबास गर्ने व्यक्तिहरूमा विशिष्ट खालका क्षमता र प्रतिभा भएको जानकारी पाउँदा सो समुदायका सबै मानिस खुसी भई गर्व गर्दछन् र त्यसलाई आफ्नो समुदायको पूँजीका रूपमा लिन्छन् ।
व्यक्तिमा निहित प्रतिभा र विशिष्ट क्षमताले समुदायको भिन्नै पहिचान, विशिष्ट चिनारी र समुदायको विकासलाई गति दिनका लागि समेत भूमिका निर्वाह गर्दछ ।
जुन रेडियोले समुदायमा सुषुप्त रूपमा रहेका र प्रचारप्रसारको पर्खाइमा रहेका प्रतिभा र सीपहरूलाई आफ्ना विषयवस्तु बनाई प्रसारण गर्दछन् तिनको समुदायसँगको सम्बन्ध निकै प्रगाढ भएको हुन्छ । आफ्ना सरोकारका विषय जुन रेडियोले प्रसारण गर्छ श्रोताको रोजाइमा त्यही रेडियो पर्दछ ।
तसर्थ व्यक्तिमा भएका प्रतिभा, क्षमता र सीपहरू समुदायको मात्र नभई सामुदायिक रेडियोको समेत पुँजी हो । तिनको खोजी गर्ने, पहिचान गर्ने र उजागर गर्नु सामुदायिक रेडियोका लागि महत्त्वपूर्ण हुन आउँदछ ।
सामाजिक सङ्घ/सङ्गठन तथा सञ्जाल (कार्यतन्त्र) हरू
समाजमा भिन्न–भिन्न उद्देश्य र लक्ष्य राखेर विभिन्न सामाजिक सङ्घ/सङ्गठन तथा सञ्जालहरू क्रियाशील रहेका हुन्छन् । तिनले गर्ने कार्यहरू प्रत्यक्ष रूपमा समुदायसँग जोडिने भएकाले ती रेडियोका समेत सरोकारका विषय हुन् ।
सामाजिक सङ्घ/सङ्गठन तथा सञ्जालका कार्यक्रमहरूका बारेमा नागरिकलाई सुसूचित गर्ने र तिनलाई सही गन्तव्यतर्फ अघि बढाउनका लागि रेडियोको महत्त्वपूर्ण भूमिका हुन्छ । सामाजिक सङ्घ÷सङ्गठन तथा सञ्जालहरूले सञ्चालन गर्ने कार्यक्रम र सन्देश रेडियोका विषयवस्तु हुने भएकाले रेडियोले ती संरचनाहरूलाई पूँजीको रूपमा उपयोग गर्न सक्दछ ।
समाजमा क्रियाशील विभिन्न सामाजिक कार्य तन्त्र तथा सञ्जालहरूको महत्त्व, औचित्य र तिनका कार्यक्रमले समाजमा पारेको प्रभावका नागरिकका लागि महत्त्वपूर्ण सूचना तथा जानकारी हो ।
कतिपय अवस्थामा ती सामाजिक कार्य तन्त्र तथा सञ्जालहरूले आफूले गर्ने क्रियाकलापका बारेमा समाजलाई सुसूचित गराउनका लागि विभिन्न रेडियो कार्यक्रम तथा सन्देश पनि सम्प्रेषण गर्ने गर्दछन् । यस्तो अवस्थामा ती सञ्जाल तथा सामाजिक कार्यतन्त्रहरूले रेडियोसँग स्रोतको समेत साझेदारी गर्दछन् ।
तसर्थ यस किसिमका सामाजिक कार्य तन्त्र तथा सञ्जालहरू रेडियोका लागि विभिन्न सामाजिक सवालसँग सम्बन्धित विषयमा विचार, प्रतिक्रिया, सूचना तथा जानकारी समाचारका समेत स्रोत हुन ।
राष्ट्रिय रूपमा सङ्गठित भएका विभिन्न विषयगत सङ्घ÷सङ्गठन तथा सञ्जालका राष्ट्रिय, प्रदेशस्तरीय तथा जिल्लास्थित समिति तथा पदाधिकारीलाई रेडियोले विषयवस्तु र स्रोत दुवैका हिसाबले महत्त्वपूर्ण पूँजीका रूपमा परिचालन गर्न सक्दछन् ।
स्थानीय सङ्घ–संस्थाहरू
रेडियोको प्रसारण क्षेत्र आसपासमा समुदायमा विभिन्न उद्देश्य राखेर स्थापना भएका प्रारम्भिक सङ्घसंस्था/सहकारी/सामुदायिक वन/खानेपानी उपभोक्ता समितिहरू/धार्मिक संस्था/स्थानीय युवा क्लब/समूहहरू पनि हुन्छन् । समुदायकै सदस्यहरू सङ्गठित भई निश्चित कार्य गर्नका लागि ती सङ्घ–संस्थाहरू स्थापना भएका हुन्छन् ।
ती स्थानीय सङ्घ–संस्था तथा समूहले गर्ने क्रियाकलापहरू प्रत्यक्ष रूपमा स्थानीय समुदायसँग नै सम्बन्धित हुन्छन् । ती संस्थाले के–कस्ता गतिविधि सञ्चालन गरिरहेका छन् ? स्थानीय सहभागिता के कस्तो छ ? तिनको समग्र सुशासनको अवस्था के कस्तो छ ?
समुदायका कति मानिसहरू ती प्रारम्भिक समूह तथा संस्थाहरूबाट लाभान्वित भएका छन् ? तिनको आयव्ययको अवस्था÷तिनको सिकाइ र अनुभव लगायत विषयहरू स्थानीय समुदायको सरोकार र चासोका विषय हुन् ।
कतिपय अवस्थामा आफैले स्थापना गरेका प्रारम्भिक तहका संस्था तथा समूहका बारेमा समेत समुदाय अनभिज्ञ हुन्छ । यस्तो अवस्थामा ती स्थानीय संस्था तथा समूहको नक्साङ्कन गरी तिनका गतिविधि र वास्तविक अवस्थाबारे रेडियो सामग्री निर्माण गरी प्रसारण गर्दा समुदाय प्रत्यक्ष लाभान्वित हुन्छ ।
ती संस्थाका गतिविधि रेडियोका लागि रेडियो सामग्री हुन्छन् भने कामको बारेमा प्रचारप्रसार गर्दा धेरथोर स्रोतको साझेदारीको सम्भावना रहन्छ । यसका लागि आफ्नो प्रसारण स्थल आसपास रहेका सबै खालका प्रारम्भिक संस्था तथा समूहको सूची निर्माण गरी सहकार्यको योजना गर्नुपर्दछ ।
जति धेरै स्थानीय गतिविधि रेडियोमा प्रसारण हुन्छ त्यति नै धेरै रेडियोका श्रोताहरू बढ्छन् । श्रोता बढ्नु भनेको अन्ततः रेडियोका लागि स्रोत बढ्नु हो । तसर्थ स्थानीय संस्था तथा समूहलाई सामुदायिक रेडियोका लागि महत्त्वपूर्ण पूँजीका रूपमा उपयोग गर्न सक्छन् ।
सांस्कृतिक पूँजीहरू
नेपाली समाज जातीय, धार्मिक, सांस्कृतिक, भाषिक र साम्प्रदायिक विविधतायुक्त छ । एउटै समुदायमा पनि फरक–फरक जातजाति र धर्म संस्कृति मान्ने मानिसहरू बसोबास गर्दछन् ।
जति धेरै विविधता भए पनि समुदायका बिचमा बलियो सामाजिक सद्भाव, मेलमिलाप र सहिष्णुता कायम रहिआएको छ । समुदायमा बसोबास गर्ने सबै जातजातिले मनाउने धर्म, संस्कृति र चाडपर्व समुदायका पूँजी हुन् । कुनै एउटा जाति, भाषा वा सम्प्रदायका मात्र गतिविधि प्रसारण गर्दा सबैले रेडियोमा अपनत्व ग्रहण गर्न सक्दैनन् ।
एउटा जाति वा सम्प्रदायको मात्र कुरा गर्ने र अर्कालाई होचो–निचो देखाउने खालका विषयवस्तु मात्र प्रसारण गर्दा समाजमा द्वन्द्व सृजना हुन सक्दछ । सामाजिक एकता, मेलमिलाप र सहिष्णुता कायम गर्नका लागि रेडियोको सन्तुलित भूमिका महत्त्वपूर्ण हुन्छ ।
समुदायले मनाउँदै आएका रीतिरिवाज, चालचलन, परम्परा, चाडपर्व, मेला–महोत्सव तथा जात्रा, संस्कार र संस्कृति मनाउने क्रममा गरिने क्रियाकलाप, लगाइने पोशाक तथा भेष भूषा, खानाका परिकार, परम्परागत मूल्यमान्यता सामुदायिक रेडियोका लागि महत्त्वपूर्ण विषयवस्तु हुन् । समुदायले मान्दै आएका सबै खाले संस्कृति र अभ्यासहरू समाजका लागि उपर्युक्त हुन्छन् भन्ने छैन ।
कतिपय हानिकारक अभ्यासहरूका बारेमा समुदायलाई सुसूचित गर्दै हानिकारक अभ्यासहरूको न्यूनीकरण गर्ने र लोकहितमा रहेका अभ्यासको बारेमा प्रचारप्रसार गर्नु वाञ्छनीय हुन्छ ।
पछिल्लो समय हाम्रा भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, मूल्यमान्यता हराउँदै गएका हुन् कि भन्ने चिन्ता बढिरहेको छ । हाम्रा संस्कार र संस्कृति कुन सामाजिक ऐतिहासिक पृष्ठभूमिमा निर्माण भएका थिए ?
एक पुस्ताबाट अर्को पुस्तामा कसरी हस्तान्तरण हुँदै गए ? वर्तमान सन्दर्भमा ती संस्कार र संस्कृतिहरूको सामाजिक, आध्यात्मिक, धार्मिक, वैज्ञानिक महत्त्व के कस्तो छ भन्ने बारेमा समुदायलाई सुसूचित गराउन सकेको खण्डमा हाम्रा पूर्वजले नासोका रूपमा हामीलाई हस्तान्तरण गरेका संस्कार र संस्कृतिको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुग्दछ ।
सबै जाति तथा समुदायका धार्मिक, सांस्कृतिक जानकारीहरू रेडियोबाट सम्प्रेषण गर्दा समुदायसँगको सामीप्य र सहकार्यमा समेत बढोत्तरी हुन्छ ।
सबै जाति, भाषा, धर्म, संस्कृति मान्ने समुदायलाई रेडियोमा पहुँच दिन सकेको खण्डमा त्यसले श्रोता त बढाउँछ नै सँगसँगै स्रोतमा साझेदारीको सम्भावना समेत बढाउँछ । तसर्थ समुदायमा विद्यमान संस्कार, संस्कृति, परम्परा, मूल्यमान्यता, विश्वासहरूलाई सामुदायिक पूँजीको रूपमा ग्रहण गर्दै लाभ लिन सक्दछन् ।
रेडियोका लागि स्रोतको नक्साङ्कन
समुदायमा स्थापना भएका सबै खाले सङ्घसंस्था, सञ्जाल, सङ्गठन, प्राकृतिक स्रोतसाधन, भौतिक पूर्वाधार, अभियानहरू, धार्मिक तथा सांस्कृतिक सङ्घ–संस्था, सरकारी, गैरसरकारी तथा सहकारी क्षेत्र, निजी व्यापार व्यवसाय गर्ने उद्योग व्यवसाय तथा व्यापारहरू, बैङ्क तथा वित्तीय संस्थाहरू रेडियोका लागि विषयवस्तु र सम्भावित आर्थिक स्रोत हुन् ।
समुदायमा विभिन्न प्रकार र आकारका वित्तीय कारोबार गर्ने सङ्घसंस्था हुन्छन् । जसमा निजी क्षेत्रबाट सञ्चालित सबै खालका व्यापार–व्यवसाय, वित्तीय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्था लगायत पर्दछन् ।
आम्दानीको लक्ष्य राखेर स्थापना भएका व्यापार–व्यवसाय तथा वित्तीय कारोबार गर्ने सङ्घसंस्था स्रोतमा साझेदारी गर्ने महत्त्वपूर्ण संस्था हुन् ।
निजी क्षेत्रले आफूले गरिरहेको व्यापार–व्यवसाय, सेवाका प्रकार तथा गुणस्तर, कस्ता कस्ता खालका सामग्री तथा सेवाहरू त्यहाँ पाइन्छ लगायत विषय आफ्ना ग्राहकहरूसमक्ष पुर्याउन चाहन्छन् । अर्कातर्फ समुदाय पनि आफूले उपभोग गर्ने वस्तु तथा सेवाको बारेमा भरपर्दो सूचना तथा जानकारी खोजिरहेको हुन्छ ।
यस्तो अवस्थामा रेडियोहरूले स्थानीय व्यापार–व्यवसाय तथा आर्थिक गतिविधि सञ्चालन गर्ने उद्योग, व्यवसाय, सङ्घ–संस्थासँग व्यावसायिक सूचना÷जानकारी तथा विज्ञापन प्रसारणमा साझेदारी गर्न सक्छन् भने कतिपय अवस्थामा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमलाई समुदायको हित हुने खालका रेडियो सामग्री उत्पादन तथा प्रसारणका लागि उपयोग गर्न सक्दछन् ।
स्थानीय रूपमा व्यापार–व्यवसाय तथा वित्तीय कारोबार गरिरहेका निजी क्षेत्र÷सामुदायिक क्षेत्र र धार्मिक/सांस्कृतिक सङ्घसंस्था/सञ्जाल तथा सङ्गठनबाट लाभ लिनका लागि सबैभन्दा पहिले रेडियोको प्रसारण स्थल आसपास भएका सबै व्यापार–व्यवसाय/उद्योग धन्दा तथा वित्तीय कारोबार हुने संस्थाहरूको नक्साङ्कन गर्नुपर्दछ । यसरी नक्साङ्कन गर्दा साना–ठुला सबै खाले व्यापार–व्यवसाय, सामाजिक/आर्थिक/धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्ने सबै खालका सङ्गठित सङ्घसंस्था, समूह, क्लब, मठमन्दिर, सञ्जाल लगायत सङ्घसंस्थाको सूची निर्माण गर्नुपर्दछ ।
यसपछि रेडियोले कुन–कुन समयमा ती सङ्घसंस्था तथा व्यापारिक प्रतिष्ठानसँग सूचना/सन्देश तथा विज्ञापन साझेदारीका लागि सम्पर्क गर्न सक्छन् भनी विस्तृत क्यालेन्डर निर्माण गर्नुपर्दछ । क्यालेन्डर निर्माण गर्दा सम्भावित धार्मिक उत्सव/चाडपर्व/मेला तथा जात्रा/नयाँ वर्ष/विभिन्न मौसम/व्यापार व्यवसायीहरूले नै आफूले दिने सेवा तथा बिक्री गर्ने सामग्रीको बारेमा कुन–कुन समयमा प्रचारप्रसार गर्छन् भनी चनाखो हुनुपर्दछ ।
क्यालेन्डर निर्माण गरिसकेपछि ती व्यापारिक प्रतिष्ठान तथा व्यवसायले एक वर्षमा अनुमानित कति जति रकम आफ्ना सेवाको बारेमा उपभोक्ता तथा सेवाग्राहीलाई थाहा दिन वा प्रचारप्रसारका लागि खर्च गर्न सक्छन् ? भनी अनुमानित रकमको आँकडा निकाल्ने काम गरिन्छ । अनुमानित रकमको आँकडा भरिसकेपछि स्रोतमा प्रतिस्पर्धा गर्ने अन्य मिडियाहरू जस्तै अन्य प्रतिस्पर्धी रेडियो÷टेलिभिजन÷पत्रपत्रिका÷अनलाइन लगायत अरू मिडियाको प्रभाव र उनीहरूले ओगट्ने सम्भावित हिस्सा समेत विश्लेषण गरी तपाईंको रेडियोले कति रकम बराबरको साझेदारीमा दाबी गर्न सक्छ भनी विश्लेषण गर्नुपर्दछ ।
तत्पश्चात् यसअघि तपाईँको रेडियोले कति पटक ती व्यापारिक सङ्घ–संस्थामा सूचना, सन्देश, विचार, विज्ञापन तथा उनीहरूको महत्त्वपूर्ण सूचना प्रसार गर्नका लागि सम्पर्क ग¥यो भनी समीक्षा गर्नुपर्दछ ।
तपाईँ ती सम्भावित स्रोतहरूमा एक पटक पनि प्रयास नगरी यत्तिकै धारणा बनाउनुभयो भने त्यसले नतिजा दिन सक्दैन । तसर्थ आगामी दिनमा तपाईँको रेडियोले कस्ता–कस्ता सूचना, जानकारी, कार्यक्रमका लागि त्यहाँस्थित धार्मिक, सांस्कृतिक, सामाजिक सङ्घसंस्था, निजी क्षेत्रका व्यापार व्यवसायसँग साझेदारी गर्न सकिएला भनी योजना निर्माण गर्नुपर्दछ ।
योजना निर्माण गरिसकेपछि आफूले राखेको लक्ष्य प्राप्तिका लागि अहिले विद्यमान जनशक्ति, नेतृत्व, उपकरण/कार्यक्रम पर्याप्त हुन् या त्यसमा केही थपघट गर्नुपर्ने हुन्छ भनी विश्लेषण गर्नुपर्दछ । सोही बमोजिमको जनशक्ति परिचालन÷कार्यक्रम निर्माण/बजारीकरण योजना गर्नुपर्दछ ।
योजना बनाउँदा अहिले तपाईँको संस्थामा विद्यमान जनशक्ति वा स्रोतसाधनले सहजै गर्न सकिने कामलाई अघि राख्नुपर्दछ ।
यसलाई ‘लो ह्याङ्गिङ फ्रुइट एप्रोच’ पनि भनिन्छ । गर्न नसकिने कामको योजनालाई सुरुमै राखियो भने यसले नतिजा पनि दिँदैन र असफलतासँग निराशा पनि दिन्छ । तसर्थ सबैभन्दा पहिला जुन संस्था÷व्यापारिक प्रतिष्ठान वा संयन्त्रसँग सहजै साझेदारी गर्न सकिन्छ ती संघ संस्थासँग सम्पर्क, समन्वय एवम् साझेदारी गर्नुपर्छ ।
स्रोत नक्साङ्कनको यस प्रक्रियाले अहिले रेडियो जुन ठाउँमा रहेर प्रसारण भइरहेको छ त्यो ठाउँ स्रोतका हिसाबले रेडियोको सञ्चालन खर्च धान्न सक्ने अवस्थामा छ या छैन विश्लेषण गर्न सकिन्छ । तसर्थ हरेक रेडियोको दिगोपनाका लागि रेडियो आसपास भएका स्रोतहरूको नक्साङ्कन गर्नु अपरिहार्य हुन्छ । अन्यथा रेडियो कुहिरोको काग जस्तै स्रोतका लागि भाैतारिनुपर्ने र नतिजामा निराशा मात्र प्राप्त हुन्छ ।
स्रोतको नक्साङ्कन नगरेसम्म तपाईँको समुदायमा कति पुँजी छ भन्ने कसरी थाहा पाउने ? अन्य प्रतिस्पर्धी माध्यमहरूका कमजोरी वा दुर्बल पक्षहरूको विश्लेषण गर्दै आफ्नो सक्रियता बढाउन सकेको खण्डमा त्यसले बजार आफूतिर आकर्षित गर्न सक्दछ।
अकोराबको प्रकाशन "सामुदायिक रेडियो" बाट साभार ।
(डा. चापागाईँले ‘नेपाली संस्कृतिको प्रवर्द्धनमा एफएम रेडियोको भूमिका’ विषयमा विद्यावारिधि गर्नुभएको छ।)
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, १२:२७