काठमाडाैँ । कोरोनाविरुद्धको १५ लाख मात्रा खोप नेपाल आइपुगेको छ । युरोपका अस्ट्रिया, चेक गणतन्त्र, फ्रान्स, ग्रिस र इटालीबाट कोभ्याक्स अन्तर्गत नेपाललाई सहयोग गरेको १५ लाखभन्दा धेरै मात्रा खोप नेपाल आइपुगेको हो ।
जसमा अस्ट्रियाले ४ लाख बढी, चेक गणतन्त्रले ३ लाख ६२ हजार, फ्रान्सले १ लाख ९५ हजार, ग्रिसले ३ लाख ४८ हजार र इटलीले १ लाख ९५ हजार खोप उपलब्ध गराएका हुन् । फ्रान्स र इटलीले यसअघि पनि झन्डै १३ लाख मात्रा खोप उपलब्ध गराएका थिए । नेपालका लागि युरोपेली सङ्घका राजदूत एचई नोना डेप्रेजले कोरोना सङ्क्रमण दर दिनहुँ बढिरहेका बेला खोपको प्रभावकारिता अझ बढेको र यसले नेपालीलाई कोभिडसँग लड्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खोप हस्तान्तरण कार्यक्रममा युनिसेफ नेपालका अन्तरीम देशिय प्रतिनिधि उषा मिश्रले कोभ्याक्स मार्फत नेपालमा कोभिडविरद्धको खोप वितरण गर्न र ती खोप कोही पनि नछुट्नेगरी सबै सम्म पुर्याउन युनिसेफ प्रतिबद्ध रहेको बताउनुभयो । युनिसेफले कोभिड भ्याक्सिनहरूप्रति सचेतना र विश्वास जगाउन र खोपको प्रयोगलाई प्रवर्द्धन गर्न समुदायहरूसम्म पुगेर नेपाल सरकार सँगै काम गरिरहेको पनि मिश्रले बताउनुभयो ।
नेपालमा सन् २०२१ को सुरुमै कोरोनाविरुद्धको खोप परीक्षण गरिएको थियो । अहिलेसम्म कुल जनसङ्ख्याको ८३ दशमलव १ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, १८:४८