काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामुदायिक रेडियोसँग सहकार्य गर्न र सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका तर्फबाट अध्यक्ष अर्जुन गिरीले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री महतले सामुदायिक रेडियोलाई आर्थिक रूपमा बलियो बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले सामुदायिक रेडियोका मागलाई अध्ययन गरी प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।
अध्यक्ष गिरी नेतृत्वको टोलीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर रावतलाई पनि ज्ञापन पत्र बुझाउँदै सामुदायिक रेडियोको समस्या बारे ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री मोदीले मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने र स्थानीय सरकारलाई पनि सहयोगका लागि आग्रह गर्ने बताउनुभयो । यस्तै, सचिव रावतले आफुले सामुदायिक रेडियोका समस्या बुझेकाले अब सामुदायिक रेडियोका लागि काम गर्ने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, १९:०४