काठमाडौँ । आजबाट नयाँ वर्ष २०८० सुरु भएको छ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देशविदेशमा बस्ने नेपालीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरूमा शुभकाना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको उपलक्ष्यमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।
उहाँले आज शुभकामना सन्देश जारी गर्दै सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएको र यीनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गर्ने तथा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न कटिबद्ध रहन पनि राष्ट्रपति पौडेलले अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ ।
यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने नभएर राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने उहाँको भनाइ छ ।
उहाँले यो वर्ष भरोसा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०, ०८:५७