काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
नेपाली काँग्रेसबाट एनपी साउँदलाई परराष्ट्र मन्त्री बनाउन आग्रह गरिएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले साउँदलाई शपथ खुवाउने तय भएको छ ।
बाँकी मन्त्रीको नाम भने काँग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले काँग्रेसको भागमा परेका चार मन्त्रालयका लागि मन्त्रीको नाम दिन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभएको थियो ।
आफ्नो भागमा परेका ८ मध्ये स्वास्थ्य, कानुन र खेलकुद मन्त्रालयमा काँग्रेसले मन्त्रीको नाम अझैँ पठाएको छैन । अहिले प्रधानमन्त्री प्रचण्डको जिम्मामा ६ वटा मन्त्रालय छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०, ०९:४८