जीवनकुमार कैला
बाजुरा । समयमै पाठ्यपुस्तक नपुग्ने समस्या रहेको बाजुरामा यस वर्ष पाठ्यपुस्तक पुग्ने क्रम सुरु भएको छ । बाजुराका नौमध्ये चार वटा पालिकाका सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्मको पाठ्यपुस्तक मार्तडी र कोल्टी पुर्याइएको हो ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश धनगढीले पाठ्यपुस्तक वितरणमा बाजुरालाई पहिलो प्राथमिकतामा राखेका कारण यस वर्ष बाजुरामा समयमा नै पाठ्यपुस्तक पुगेको रारा बुक्स एन्ड स्टेसनरी अर्डर सप्लायर्स कोल्टीका सञ्चालक सञ्जय रोकायाले जानकारी दिनुभयो । कुन्ना क्षेत्रका चार वटा पालिकामध्ये बुढीनन्दा नगरपालिकाका ३० र जगन्नाथ गाउँपालिकाका १९ गरी ४९ सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइतबार कोल्टी पुगेको उहाँले जानकारी दिनुभयो । त्यस्तै बडीमालिका नगरपालिकाका २५ र बुढीगंगा नगरपालिकाका २९ गरी ५४ वटा सामुदायिक विद्यालयका पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा पुगेको छ ।
जिल्लाका २ सय ३७ वटा सामुदायिक विद्यालयमध्ये १ सय ३ वटा विद्यालयका लागि पाठ्यपुस्तक पुगे पनि १ सय ३४ वटा विद्यालयमा अझै पुग्न बाँकी छ । बाँकी रहेका हिमाली र स्वामिकार्तिकखापर गाउँपालिकासहित पाँच वटा पालिकाका विद्यालयमा केही दिनभित्रै पाठ्यपुस्तक पुग्ने पालिकाको दावी छ ।
बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको पाठ्यपुस्तक खरिदको जिम्मा पाएका रोकायाले अबको एक हप्ता भित्रै विद्यालयमा पाठ्यपुस्तक पठाउने बताउनुभयो । उहाँले यस वर्ष शैक्षिक सत्रको पहिलो सातामै जिल्लामा पाठ्यपुस्तक पुगिसकेकाले विद्यालय सञ्चालन हुनु अगाडी नै पठाउने तयारी भइरहेको बताउनुभयो । वार्षिक परीक्षा सञ्चालन हुँदासम्म पनि पुरै पाठ्यपुस्तक नपाउने हिमाली जिल्ला बाजुराका विद्यार्थीको पीडा यस वर्ष अन्त्य हुने भएको छ । जसका कारण विद्यार्थी खुसी भएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०, १७:४६