काठमाडौँ । काठमाडौँमा भोलि (मङ्गलवार)बाट एसीसी प्रिमियर कप क्रिकेट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मङ्गलवार मलेसियासँग खेल्नेछ । खेल बिहान साढे ९ बजेपछि कीर्तिपुरमा सुरु हुनेछ । नेपाल र मलेसियाबिच अहिलेसम्म पाँच पटक खेल भएकोमा सबै खेलमा नेपाल विजयी भएको छ ।
अर्को खेलमा मङ्गलबार नै हङकङ्ग र सिङ्गापुर मूलपानी क्रिकेट मैदानमा खेल्नेछन् । मूलपानी मैदानमा पहिलो पटक अन्तर्रराष्ट्रिय प्रतियोगता हुन लागेको हो ।
प्रतियोगिताका प्रतिस्पर्धी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । यस्तै, समूह ‘बी’ युएई, हङकङ्ग , कुवेत, सिङ्गापुर र बहराइन रहेका छन् ।
नेपालले वैशाख ८ गते कीर्तिपुरमा ओमानसँग, ११ गते साउदी अरबसँग मूलपानीमा र १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ ।
दुबै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल वैशाख १६ गते शनिवार हुनेछ । भने फाइनल खेल वैशाख १८ गते सोमबार हुनेछ । प्रतियोगितामा नेपालसहित ओमान, युएई र हङकङ्ग लाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
विजेताले यसै वर्ष हुने एसिया कप खेल्न पाउने छ । जहाँ टेस्ट मान्यताप्राप्त देश भारत र पाकिस्तान पनि प्रतिस्पर्धी हुनेछन् । नेपालले प्रतियोगितामा पहिलो लक्ष्यका साथ तयारी गरिरहेको जनाएको छ ।
लिग टूका १२ मध्ये ११ खेल जित्दै एक दिवसीय वरीयता कायमै राख्न र विश्वकप छनोट खेल्न सफल भएको नेपालसामु त्यसै अनुसारको प्रदर्शन गर्नुपर्ने चुनौती रहेको क्रिकेट विश्लेषक बताउँछन् ।
नेपालले लिग टू खेलेकै टिमलाई प्रिमियर कपमा पनि निरन्तरता दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०, १६:२०