काठमाडाैँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ८४ रनले हराएको छ । ३११ रनको लक्ष्य पाएको ओमानले ४६ ओभर ३ बलमा ९ विकेट गुमाएर २ सय २६ रनमात्र बनाउन सक्यो । ओमानका एकजना ब्याटर घाइते भएर ब्याटिङ गर्न आउन नसकेपछि २१ बल बाँकि हुँदै इनिङ समाप्त भएको हो ।
नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिनुभयो । ओमानका माेहम्मद नदिमले ६५ र सन्दीप गाैडले ४५ रन बनाएपनि टिमलाई जिताउन त्यो पर्याप्त भएन ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । खराब सुरुवात गर्दै दुबै ओपनर शुन्यमै आउट भए पनि कुशल मल्लको कीर्तिमानी शतक र सोमपाल कामीको अर्ध शतक मद्दतमा नेपालले ठूलो योगफल तयार पारेको हो ।
कुशलले मात्र ६४ बलमा ९ चौका र १० छक्का सहित १०८ रन बनाउनुभयो । यस्तै सोमपालले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाउनुभयो। भीम सार्कीले ३३, आरिफ शेखले २९ र कप्तान रोहितकुमार पौडेलले २३ रन जोड्नुभयो । ओमानका आयन खानले दुई विकेट लिनुभयो ।
नेपालले यसअघि मलेसियासँग ६ विकेटको जित हात पारेको थियो। प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । जहाँ एसियाका टेस्ट मान्यताप्राप्त टिम प्रतिस्पर्धी हुनेछन् ।
यसैबिच आजको खेलबाट स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडी बन्नुभएको छ । आज पहिलो विकेट लिएसँगै सन्दीपको नाममा सवैभन्दा थोरै एकदिवसीय खेलमा सय विकेट लिने कीर्तिमान सन्दीपको नाममा बनेको हो । सन्दीपले मात्र ४२ खेलमा यो कीर्तिमान बनाउनुभएको हो । यसअघि यो कीर्तिमान अफगानस्तानका राशिद खानको नाममा थियो । सन्दीपले आज ३ विकट लिएकाले ४२ खेलमा कुल विकेट सङ्ख्या १०२ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०, १६:२०