काठमाडौँ । चितवन, तनहुँ र बारा जिल्लामा आज हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा ३ लाखभन्दा धेरै मतदाता सहभागी हुँदैछन् । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नम्बर २ मा कुल मतादाता सङ्ख्या १ लाख २४ हजार ६ सय ९५ छ भने बारा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ४८ पुगेको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा मतदाता सङ्ख्या १ लाख २३ हजार ३ सय ५ रहेको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि १ सय ९४ मतदान स्थल र ४ सय २७ मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा व्यवस्था मिलाइएकाले मतदानमा सहभागी हुन गृहमन्त्रालयले सम्बन्धित क्षेत्रका मतदातासँग अनुरोध गरेको छ ।
सीआईएनसँग कुराकानी गर्र्दै गृहप्रवक्ता जितेन्द्र बस्नेतले भयरहित वातावरणमा मतदानको व्यवस्था गर्न सबै सुरक्षा निकायलाई परिचालन गरिएको बताउनुभयो ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भए निर्वाचन विवाद सुनुवाई र निरुपण सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।
पर्सि बिहानसम्ममा नतिजा आइसक्नेगरी मतगणनाको व्यवस्था मिलाउन मातहतका निकायलाई भनिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन
उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय भएको भन्दै ती सबै खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय र सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णय भएकोमा आयोगले त्यस्ता निर्णय खारेज गर्न निर्देशन दिएको हो ।
बारा–२ को देवताल गाउँपालिका–२ स्थित सिँचाइ अफिस कल्याणपुर मतदानस्थलको मतदान केन्द्र ९ क र ख मा मतदान अधिकृतसहितको सहभागितामा भएका निर्णय र यस्तै प्रकृतिका निर्णय उपनिर्वाचन हुने अन्य मतदान केन्द्रमा पनि भएको भए बदर गरी प्रचलित निर्वाचन कानुनबमोजिम गर्न सूचित गरिएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०, ०७:१७