काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तरगत युएई र सिंगापुरको खेलमा समग्रमा ७४१ रन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बनेको यो अहिलेसम्मकै सबैभन्दा धेरै रन हो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४७१ रन बनाएको हो । यो कीर्तिपुरमा बनेको अहिलेसम्मकै ठूलो स्कोर हो । एकदिवसीय खेलमा यूएईले बनाएको पनि यो अहिलेसम्मकै धेरै रन हो ।जवाफमा सिंगापुरले ९ विकेट गुमाएर २७० रन बनायो ।
जम्मा ३६ छक्का र ६८ चौका प्रहार भएको खेलमा युएईले २६ छक्का र ४१ चौका तथा सिंगापुरले १० छक्का र २७ चौका प्रहार गरेका थिए ।
युएईका ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गर्नुभयो । वासिमले ८२ बलमा १६० र वृत्यले १३३ बलमा १७४ रन बनाउनुभयो भने आयन खानले ७४ रनको योगदान गर्नुभयो ।
जीतसँगै, समूहमा दोस्रो स्थानमा रहेको युएईले तीन खेलमा चार अंक बनाएको छ। प्रतियोगितामा नेपालले सोमबार साउदी अरेबियासँग मुलपानीमा खेल्दैछ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०, १७:५३