काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको उपनिर्वाचनको ५५ प्रतिशत मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बेलुकी ७ बजेसम्म ५५ प्रतिशत मतगणना सकिएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तीनै ठाउँमा भोलि साँझसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । यो समाचार तयार पार्दासम्म उहाँले १९ हजार ६ सय ५३ मत प्राप्त गर्नुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई ११ हजार ६ सय ६९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार दुई सय ३६ मत पाउनुभएको छ । यहाँ वाग्लेले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
यस्तै चितवन २ मा रास्वपाका सभापति समेत रहनुभएका रवि लामिछानेको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार लामिछाने चार हजार तीन सय ५८ मत पाउनुभएको छ एमालेका रामप्रसाद न्यौपानेले दुई हजार पाँच सय ८५ र काँग्रेसका जितनारायण श्रेष्ठले दुई हजार दुई सय पाँच मत पाउनुभएको छ ।
बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता लिनुभएको छ । उहाँले दुई हजार ६ सय मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले दुइृ हजार ६७ मत पाउनुभएको छ । यस्तै एमालेका पुरुषोत्तम पौडेलले आठ सय ६१ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले तीन सय तीन मत पाउनुभएको छ । यो क्षेत्रमा यादव र कुशवाहाबीच चर्को प्रतिस्पर्धा भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०, १९:४१