काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँबाट विजयी सुरुवात गरेको छ ।
तनहुँ क्षेत्रनम्बर १ को उपनिर्वाचनपछिको मतगणना आज बिहान सकिँदा रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले ३४ हजार ९ सय १९ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाउनुभएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाउनुभएको छ ।
मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न बाँकी छ ।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा अस्ति उपनिर्वाचन भएको हो ।
चितवन क्षेत्र नम्बर २ मतगणना चलिरहँदा पछिल्लो जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणना भएकोमध्ये ४० हजार ६९ मत पाउनुभएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४ सय ५६ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत पाउनुभएको त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन् ।
बारा क्षेत्र नम्बर २ मा जसपाका उपेन्द्र यादले ९ हजार ८ सय ७०, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहले ६ हजार ७ सय ७१ र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत पाउनुभएको छ ।
रास्वपाका उम्म्ेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत पाउनुभएको छ । चितवन र बारामा मतगणना चलिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०, ०७:०३