काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा कतारसँग कमजोर ब्याटिङ गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ औँ ओभरमा १५७ रनमा अलआउट भयो । दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल २ रनमा आउट भएसँगै नेपालको विकेट पतन सुरू भएको हो । भीम सार्की ६ रनमा, आसिफ शेख १९ रनमा कप्तान रोहितकुमार पौडेल २७ रनमा, कुशल मल्ल ३ रनमा, सोमपाल कामी ११ रनमा, आरिफ शेख ११ रनमा, दीपेन्द्रसिंह ऐरी, १२ रनमा र गुल्शन झा ७ र ललितनारायण राजवंशी १ रनमा आउट हुनुभयो ।
सन्दीप लामिछाने ४२ रनमा नटआएट रहनुभयो । बलिङमा कतारका अमिर फारुकले ३ तथा मुनवीरा र ओवाइस अहमेदले २(२ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। यससँगै नेपाल ५ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।
आजको खेल जिते नेपाल समुह विजेता बन्नेछ । यो समूहबाट ओमान ६ अंकसहित सेमिफाइनल पुगिसकेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०, १२:१५