पर्वतको फलेवास नगरपालिका– ५ खानीगाउँमा रहेको रेडियो पर्वतमा भीषण आगालागी भएको छ । बुधबार विहान १ वजे विद्युत सर्ट भएर आगालागी भएको छ । प्राविधिक कक्षमा रहेको स्विचबाट विद्युत सर्ट भएर रेडियोको सबै कक्षमा आगो सल्किएर रेडियोमा रहेका यान्त्रिक उपकरण सबै जलेर नष्ट भएका छन् ।
स्टेशन म्यानेजर शंकर शर्माले आगालागीका कारण रेडियोमा रहेका २ वटा मिक्स्चर, दुईवटा माईक, ६ वटा कम्प्यूटर, १५ वटा व्याट्रि सबै जलेको बताउनुभयो । आगालागीबाट ट्रान्समिटरका तार जलेपनि ट्रान्समिटर भने जल्नबाट जोगाएको छ ।
रातीको समयमा आगालागी भएकाले बढि क्षति भएको शर्माले बताउनुभयो । राती कर्मचारीहरुले गुहार मागेपछि गाउँलेले पानी खन्याएर आगो निभाएका हुन् ।
सबै उपकरण जलेपछि मात्रै आगो नियन्त्रणमा ल्याइएको रेडियोका प्राविधिक लिवियाना चौहानले जानकारी दिनुभयो । आगोले टावर र ट्रान्समिटर बाहेक अन्य कुनै उपकरण बाँकी नरहेको चौहानले बताउनुभयो ।
घटनाको अवलोकनका लागि प्रहरी नायव उपरिक्षक श्यामु अर्याल सहितको टोली रेडियोमा पुगेको छ । रेडियो पर्वत जिल्लाकै पहिलो सामूदायिक रेडियो हो ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६, १२:४९