काठमाडौँ । काठमाडौँको बौद्धका मञ्जु चालिसे श्रेष्ठलाई चार वर्ष यता खाना पकाउने ग्यास चाहिँदैन ।
बिजुलीबाट चल्ने चुल्होमा खाना पकाउन ग्यासभन्दा छिटो, सजिलो र सस्तो भएको उहाँको अनुभव छ । ४ जनाको परिवारलाई खाना पकाउँदा महिनामा एक हजार पनि नलागेको श्रेष्ठ बताउनुहुन्छ ।
दोलखाका रूकेश कोईरालाको घरमा भने खाना बनाउँदा महिनामा एक सिलिन्डर ग्यास सकिन्छ । उहाँले बिजुलीबाट चल्ने इन्डक्सन चुल्होबारे सुन्नु त भएको छ तर यो ग्यासभन्दा सजिलो र सस्तो छ भन्ने भेउ पाउनुभएको छैन । विद्युतीय चुलो जडानका क्रममा नै महँगो हुने, विजुलीको महसुल धेरै उठ्ने डरले अहिलेसम्म प्रयोग नै नगरेको उहाँको भनाइ छ ।
रुकेशजस्तै धेरै उपभोक्तालाई ग्यास चुल्हो र विद्युतीय चुल्हो कुन सस्तो हुन्छ ? भन्ने अलमल रहेको छ ।
सुरुमा ग्यास सिलिन्डर लिन धरौटीसहित करिब ४ हजार रुपैयाँ लाग्छ भने चुल्होका सामानसहित जडान गर्दा यो खर्च कम्तीमा ७ हजार रुपैयाँ पुग्छ ।
विद्युतीय चुल्हो भने बजारमा ३ हजार रुपैयाँदेखि नै पाइन्छ । अहिले बजारमा भने ४ देखि ५ हजारका बिजुली चुल्हो बढी बिक्री भइरहेको विक्रेताहरूको बताउँछन् । ऊनीहरूका अनुसार पछिल्लो समय विद्युतीय चुल्होका लागि छुट्टै भाँडा किन्न पर्दैन ।
पछिल्लो समय विजुली चुल्होका प्रयोग कर्ता बढेका छन् । चालु आर्थिक वर्षका ९ महिनामा एलपी ग्यासको आयात करिब ५ प्रतिशतले घटेको छ भने विद्युतीय चुल्होको आयात १ सय २५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानको ऊर्जा अध्ययन केन्द्रले चार वर्षअघि गरेको अध्ययनले ग्यासको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा आधा सस्तो हुने देखिएको थियो ।
अध्ययनका अनुसार पाँच जनाको परिवारलाई एलपी ग्यासमा खाना पकाउँदा महिनामा १ हजार ६ सय ५० खर्च लाग्ने देखियो भने विजुली चुल्होमा जम्मा हजार रूपैयाँ मात्रै लाग्ने देखिएको केन्द्रका उपनिर्देशक टेकराज सुवेदी बताउनुहुन्छ ।
केन्द्रका प्राध्यापक डा. जगन्नाथ श्रेष्ठले गरेको अध्ययनले पनि ग्यासभन्दा इन्डक्सन चुल्होमा खाना पकाउँदा सस्तो हुने देखिएको थियो ।
अध्ययनले चार जनाका लागि आधा किलो चामल ग्यासबाट पकाउँदा ऊर्जाको लागत २ दशमलव ४६५ रुपैयाँ र बिजुलीबाट पकाउँदा १ दशमलव ४१९ रुपैयाँ पर्ने अध्ययनले देखाएको थियो ।
अध्ययनले ग्यासबाट खाना पकाउँदा ११ दशमलव १८ मिनेट र इडक्सनबाट खाना पकाउँदा ७ दशमलव ८२ मिनेट लाग्ने देखाएको केन्द्रले जनाएको छ ।
तर, घरमा पुरानो वायरिङ रहनु, बेलाबेला बिजुली जानु जस्ता समस्याले भान्सामा विद्युतीय चुल्होको मात्र भर पर्न नसकिने अवस्था रहेको उपभोक्ता बताउँछन् ।
तर, विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराई यो समस्या अब ठुलो नभएको बताउनुहुन्छ ।
भारतबाट ल्याउनुपर्ने तथा जडान गर्न र खाना पकाउन महँगो पनि पर्ने एलपी ग्यासको सट्टा बिजुलीबाट चल्ने चुल्हो हरेक हिसाबले किफायती, सजिलो र उपयुक्त रहेको प्रयोगकर्ताको अनुभव छ ।