भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले आम नागरिकको ‘मुड’ र सोच कता गइरहेको छ भन्ने देखाएको छ । यो परिणामले बुझ्नेका लागि धेरै ठुलो सन्देश दिएको छ । सबैभन्दा ठुलो सन्देश भनेको अहिले जसरी सत्ता सञ्चालन भइरहेको छ त्यसप्रति नागरिकले असहमति जनाएका छन् । दलहरु अब पनि नसच्चिने हो भने आउँदो चुनावमा अझ ठुलो नोक्सानी बेहोर्नुपर्ने छ भन्ने सन्देश नागरिकले दिएका छन् । यसरी हेर्दा यो पुराना दलहरूलाई सच्चिने मौका हो ।
यो निर्वाचनबाट नागरिकको अपेक्षा पनि अलि धेरै भएको जस्तो पनि देखिन्छ । नागरिकले नयाँ दल र तिनका नेताप्रति धेरै नै विश्वास गरेको देखिन्छ । तर, यथार्थ के हो भने एक दुई जना व्यक्ति आउँदैमा सत्ता र यसको चरित्र फेरिन सम्भव छैन । सत्ताले जसरी काम गरिरहेको छ त्यसलाई रोक्न सक्ने वा परिवर्तन गर्न सक्ने क्षमता एक दुई जना नेता वा सांसदमा मात्र पनि हुँदैन । यो कुरा हामीले बुझ्न जरुरी छ । नागरिकले एक दुई जना व्यक्ति निर्वाचित हुँदैमा सबै कुरा बदलिइहाल्छ भन्ने हिसाबले अति धेरै विश्वास गर्नु एक हिसाबले जोखिम पनि हो । किनभने धेरै आशा र अपेक्षा ती पूरा भएनन् भने नागरिकमा नैराश्य बढ्छ । त्यसैले अति धेरै अपेक्षा भएका नागरिकका बीच काम गर्ने चुनौती निर्वाचितहरूसँग छ ।
तेस्रो कुरा, अहिले जुन दलहरूलाई नागरिकले सच्चिएर आऊ भनेर तत्काललाई तिरस्कार गरेका छन्, उनीहरूलाई हिजो नागरिकले यस्तै भरोसा गरेको हो । उनीहरूको पक्षमा हिजो यस्तै जनलहर थियो तर उनीहरूले आआफ्नै काम कारबाही व्यवहारलगायत कारणले त्यो भरोसालाई थाम्न सकेनन् । त्यसैले नयाँ दलले त्यो भरोसालाई थाम्न सक्नुपर्ने छ ।
अर्को कुरा, नयाँ दलले अब सरकारमा जाने कि संसद्मै प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने कुरा हो । के के नै गर्ने भनेर सरकारको चास्नीमा फस्ने गल्ती उहाँहरूले गर्नु हुँदैन । नागरिकसँग जोडिएर र संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सके अर्को निर्वाचनमा यो भन्दा ठुलो सफलता पाउने देखिन्छ । तर, मेरो त सुझाव मात्र हो के गर्ने नगर्ने भन्ने उहाँहरूकै हातमा छ । यो मेरो उहाँहरूलाई आग्रह मात्र हो अरू कसैप्रति आग्रह वा पूर्वाग्रह होइन ।
मैले नेपालजस्तै राजनीतिक चरित्र भएका संसारका धेरै देशको लोकतन्त्र, यसको प्रक्रिया नेतृत्वको काम गराइको तौरतरिकालाई नजिकैबाट हेर्ने र कतिपय ठाउँमा सहकार्य गर्ने अवसर पनि पाएको छु । धेरै दल र नेतृत्वमा सत्ताभन्दा बाहिर बस्नै नसक्ने मनोविज्ञान देखिन्छ । अरू सबै डुबे पनि म मात्र भए पनि रहिरहूँ भन्ने खालको विकृति देखिन्छ । त्यो खतरनाक हुन्छ । यस्तै नेतृत्वको वरिपरिको घेरा अर्थात् तर मारा भनिने आसेपासेहरूले आफ्नो मात्र फाइदा खोज्ने प्रवृत्ति देखिन्छ । उनीहरूले नेतृत्वलाई सच्चिन चाहे पनि दिँदैनन् । खबरदार तँ गइस् भने हामी सबै डुब्छौँ, तैँले छोड्न पाउँदैनस् भन्ने तरिकाले दबाब दिएको देखिन्छ । यो प्रवृत्ति नेपालमा पनि छैन भन्न सक्ने अवस्था छैन । तर शीर्ष नेतृत्वले म केही होइन । मभन्दा महत्त्वपूर्ण दल, यसका समर्थक, शुभचिन्तकहरू हुन् भन्ने कुरा उहाँहरूले बुझ्नै पर्छ । .अब पनि उहाँहरू यो सोचाइबाट माथि निस्कन सक्नुभएन भने उहाँहरू पनि डुब्नुहुन्छ उहाँहरूका दल पनि डुब्छन् ।
तर, अझै पनि हाम्रो राजनीतिक नेतृत्वमा विवेक छ र उहाँहरू त्यो विवेक प्रयोग गरेर आफैँ सकिने बाटोमा लाग्नुहुन्न भन्ने विश्वास गरौँ । किनभने अझै पनि धेरै समर्थक ठुला दलहरूसँगै छन् । उहाँहरूले अहिलेसम्मका कमी कमजोरीप्रति क्षमा माग्दै अब सच्चिनुहुन्छ होला भन्ने आशा गरौँ । माफी माग्दा कोही पनि सानो हुँदैन । झन् महान् हुन्छ । नागरिकले ती कमजोरीलाई क्षमा दिन्छन् । यो कुरालाई बुझेर अघि बढे उहाँहरूका लागि म अझै स्पेस देख्छु । के गर्ने भन्ने उहाँहरूकै हातमा छ ।
(पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलसँग सीआईएनका सम्पादक लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित)
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०, १९:०४