पाको हुने बेलासम्म शारीरिक रूपमा कठिनाइ हुन्छ भनेर वयस्क उमेरदेखि नै लत्तो छाड्छ । वास्तवमा थोरै मात्र पाका मानिस मात्र उमेर पुग्दै गर्दा रोग व्याधको सिकार हुन्छन् । जीवनको अन्तिमसम्म सकुशल चलाउने भनेको त व्यक्तिगत ठम्याई र आँटले नै हो । ठुलो कुरा त तपाईँले कसरी दिनचर्या बिताउने सोच्नुभएको छ र योजना बनाउनुभएको छ, त्यसमा भर गर्दछ । सकेसम्म आफ्नै हुतीले श्वास फुस्किने समयसम्म सक्रिय रहनु हरेक पाका मानिसको प्रयास हुनै पर्छ । बढी जसो सहरिया र गाउँघरका केही सम्पन्न पाका मान्छे चाहिँ साठी वर्ष पुग्दा नपुग्दै ‘त्वम् शरणम’ को स्थिति देखाई ‘नौ नाडी नै गलेको’ जसरी परनिर्भर हुन खोज्छन् । यो सर्वथा पाका मान्छेलाई मानिलो तहबाट तल्लो तहमा खस्नका लागि उद्यत भएको अवस्था हो । त्यसैले, शारीरिक रुपले सक्षम भएसम्म पाका मानिसले आफैँलाई होच्याएर र कम आङ्कलन गरेर अझ पछि बढी दुख पाउने मेसो नगरौँ ।
स्थिति:
प्राय वयस्क छउन्जेल फाइँफुइँ गर्नेहरू दुवै हातले सारा संसार ढाकेर काम गर्न खोज्छन् । कम सुतेर हुन्छ कि सबै काम भ्याउन खोज्छन् र आफूले कम खाएर हुन्छ कि परिवारका सबै सदस्यको भलोमा अहोरात्र खटिएका हुन्छन् । हुन त आफ्नै इच्छा र बर्कतले भ्याएको बाहिरी काम पनि गरेकै हुन्छन् । घरका केटाकेटी तथा मान्यजनको पनि हेरविचार पुर्याईरहेको देखिन्छन् । तिनै वयस्क बेलाको अति धामाले छ दशक लाग्दा नलाग्दा ती नागरिक ‘खै के ठायाँले समात्यो हात गोडा नै गल्छ’ भन्न थाल्छन् । अचेलका युवा र वयस्क व्यक्तिगत स्वास्थ्यमा अलि ध्यान दिने भएर हिजोकाभन्दा अलि सचेत छन् । तर आजका पाका मान्छे हिजो त्यस सचेतनाले काम गरेनन् बरु ‘सक्दा सकेको भ्याउने, ज्यान त जति पेल्यो त्यति बलियो हुन्छ, काम गरेर मरिँदैन क्या !’ भनी बैँसको तुजुकले दसै दिशाका काम सबै भ्याएकाहरू परे ।
अहिलेका पाका मान्छेले जानी नजानी गरेका कामले नै अहिले परिवार धेरै कुरामा सक्षम भएको कुरा अहिलेको पुस्ताले स्विकार्नै पर्छ । हो, उहाँहरू उति बेलाको काम र प्रवृत्तिगत च्यापोमा परेको फलस्वरूप अलि चाँडै विभिन्न रोगले मौका पायो र उमेर नपुग्दै कथित ‘बुढ्यौली’को सिकार हुन गए । शरीरले जसरी अल्झाउन खोजे पनि नेपालका पाका मान्छे यतिखेर कामका विभिन्न चरणमा रहेर आफ्नो बाँकी जीवन चलाई रहेका छन् । कसैले सहजै दिन काटिरहेका होलान् भने कसैले घिसारिरहेका होलान् तर अझै आफ्नै आत्मबलमा बाँचेका धेरै भेटिन्छन् । तैपनि शारीरिक मानसिक सक्षमताका आधारमा सक्षम, आंशिक निर्भर र परनिर्भर भनी पाका मान्छेलाई वर्गीकरण गर्दा स्थितिलाई प्रस्ट्याउन सहज होला । उल्लेखित कुनै कित्तामा आफूलाई परेको अनुभूत हुन्छ भने भइरहेकोमा सतर्क हुने र अझ आउँदा दिन दुर्दिनमा नफेरियोस् भनी चिन्तन गरी व्यवहार सच्याउन सुरु गरी हाल्नुपर्छ है !
सक्षम:
पाको उमेर सुरु हुनु अघिदेखि गरिरहेका कामलाई निरन्तरता दिन मिल्छ भने ‘पाको भइयो अझै कति काम गर्नु ?’ भनी नीच नमारौँ । अलिअलि औषधि सेवन गर्नुपर्ने छ भने पनि पाएसम्म परोक्ष वा प्रत्यक्ष आयआर्जनको काम नछोडौँ । हो ! उमेरका कारण काम गर्न पहिले जत्तिकै सहज त हुँदैन तर, निष्क्रिय रहनु आफ्नै स्वास्थ्यको हितमा पनि छैन । काम गर्ने तरिकामा फरकपन ल्याउन सकिन्छ । बिहानदेखि बेलुका लगातारको ठाउँमा बिसाई बिसाई र दैनिकको ठाउँमा दिन बिराएर काम गर्नु पनि आन्तरिक ऊर्जा सङ्कलनको उपाय हो । त्यस क्रमको अभ्यासले उमेर बढ्दो शरीरले काममा नियमितता दिन सहज र आरामदायी होला । यसले आफ्नो शारीरिक स्वस्थता र मानसिक सन्तुष्टि कायमै रहन्छ ।
अनियमित भए पनि बाहिरी काममा सक्रिय हुन छाड्नु हुँदैन, त्यसले सामाजिक हैसियत कायम राख्न त मद्दत गर्छ नै, साथीभाईबीचमा भौतिक उपस्थिति पनि रहला । बाहिरी सेवा, व्यवसाय र कामबाट सेवा निबृत्त भए पनि गरिआएका काम सकेसम्म गर्न नछाडौँ र जिउँदो उपस्थिति जनाई रहौँ । ‘म पनि छु है अझै’ भनी सक्रिय उपस्थिति देखाउन कन्जुस्याइँ नगरौँ । व्यक्तिवादी सोचले घर गरेको वर्तमान अवस्थामा नियमित र थोरै भए पनि आय भएमा तपाईँको खुद्रा खर्चको व्यवस्थापन गर्न सहज हुन्छ । त्यसैले, भारी बोके झैँ धेरै काम गरेर धेरै कमाउन खोज्नुभन्दा आफ्नो शरीरको अवस्थाबारे उचित मूल्याङ्कन गरेर टक्र्याक–टुक्रुक भए पनि काम नछोड्नोस् ।
घरायसी काम मै जीवन अघि बढेको हो भने हिजोकोजस्तो भित्री बाहिरी सबै काम हिजैको जस्तै नओगटौँ । सकेको गर्न चाहिँ नछाडौँ । आफ्नै भौतिक उपस्थितिमै रेखदेख र हेरविचार गरेको अनुभूत हुने गरी गरौँ । शारीरिक श्रम गर्ने उमेर नभएकाले अनुकूल घरका पाका मान्छेले सरसल्लाह र निर्णयको गम्भीर जिम्मेवारी बहन गर्नुपर्दछ । सन्तुलित बिचारले सबै सदस्यहरूको चित्त बुझाउनुपर्ने धेरै मानसिक मेहनत पर्ने त्यो काम हो । घरभित्र पसेदेखि वा ज्यानले सक्ने भएदेखि घरकै गोरख धन्दा वा भात भान्छाको काममै जीवन बितेको छ भने अहिले पहिलेजस्तो ‘भाले बासेदेखि आधारातसम्म’ गर्न सकिन्न । अबको समय जाने बुझेको कुरामा यसो सघाउन उद्यत हुनु र घरमा नयाँ काम थाले आफूले जानेको सीपले पट्याई अरूलाई बाटो देखाइदिँदा पनि आफ्नो सक्रिय जीवनको सार बन्छ । केही नसके मिठो मसिनो बनाउन, जानेको चखिलो अचार पार्न वा विशेष तरकारीको स्वाद चखाउन आफ्नो योग्यता देखाउन सकिन्छ । परम्परागत ज्ञानका सबल र सकारात्मक पक्षमा नयाँ पुस्तालाई बाटो देखाउनु पनि उमेरिँदा गरिने उम्दा काममा पर्ने नबिर्साैँ ।
सतर्कता:
अनुकूल, शिष्ट र मर्यादित परिवारमा पाका अग्रजको मान सबैभन्दा उच्च हुन्छ नै । त्यसैको कारणले होला ‘नदेखिने स्वर्ग र नबोल्ने भगवान्’ प्रति धन, मन र समय खर्च गर्दा पनि परिवार बोल्न सक्दैनन् । पाका मान्छे पनि कोही सक्रिय रहलान् र अझै अर्थोपार्जन वा सामाजिक काममा लागि परि रहलान् । सामाजिक काममा घरायसी नेतृत्व गरिरहेका पाका मान्छे, भलादमी भेलाका ‘मानार्थ, छुट्नै नहुने सदस्य’ हुने नै भए । घर व्यवहारमा नेतृत्व लिन खोज्ने वयस्कहरू भए ‘अब त घरै बसे हुने, डुलेर के फाईदा हुन्छ खोइ ?’ सुनाउन थाले भने पाका मान्छे सतर्क हुनु आवश्यक छ । यो भनाइले तपाईँको स्वतन्त्रता र आत्मनिर्भरपनलाई प्रहार गर्न खोज्दै छ भने बिस्तारै तपाईँलाई पङ्गु बनाउन लागिँदै छ । काम नगरी बिहानको हिँडाई वा खानापछिको आरामी पछि चलखेल र साथीभाइ भेटघाटलाई ‘अनावश्यक, परिवारका कुरा काट्न भेटको बहाना’ भन्न थाले भने अझै सतर्क रहनु पर्छ ।
हिजोसम्म तपाईँका स्वादका खानपिन हुने घरमा बिस्तारै अरूका स्वादका खाना बन्न लागे भने अब तपाईँको काम र सोचाई त्यसलाई स्वीकार गर्नेतिर हुनुपर्छ । आफ्ना अनुभवले छ दशक नाघेका, झरी बादल खपेका पाका मान्छेले ‘अँ भन्दा अलङ्कार’ बुझ्नुपर्छ नि ! उनीहरूको आशय ‘उमारेँ जे गरेको, जति गरेको र परिवारको हैसियत यतिसम्म बनाएको आफ्नो इच्छाले हो, अब हाम्रा अधीनमा बस्नुपर्छ’ भन्ने नै हो । तपाईँको हैकम र इच्छा दोस्रो तहमा झरेकाले अब अझ अगाडीका दिनहरू बढी कष्टकर नबनाउन संयोजित, सके सम्झौता गर्ने र कम बोल्न थाल्नु उपयुक्त हुन्छ । उनीहरूको भनाइमा परिवार र संस्कारअनुसार नरम बोली होला तर यो ‘तपाईँ मात्र होइन हामी चाहिँ आधुनिक भयौँ’ भन्ने धम्की हो । तपाईँ प्रतिरोध गर्न सक्नुहुन्छ गर्नोस् र आफ्नो बाटोमा चल्न खोज्नोस् तर बिस्तारै भर गर्ने बेला आउँदै छ भन्ने लाग्छ भने आफ्नो भनाइमा नियन्त्रण गर्नोस् र गतिविधि रोक्नोस् । आफ्ना गतिविधिमा रमाई रहनुभएको छ भने सबै कुरा भन्ने बानी छोड्नोस् र उस्तै पर्दा एक थोक भनेर चङ्गुलबाट उम्केर आकाशका चरीझैँ कावा खानोस् ।
अवसर र योग्यताको नाममा ‘जन्माए पछि गर्नुपर्यो नि’ भन्ने नाममा झिटीगुन्टा नै बेचेर भए पनि विदेश उम्कन खोज्ने सन्तान त्यस्तै व्यक्तिवादी खालका हुन् । नवसिर्जना र मेहनत गरी रैथाने भई अघि बढ्नुपर्नेमा अर्काको मुनि, धेरै समय काम गरेर भए पनि कमाएको देखाउने हिनग्रन्थीले उत्पन्न भावना त्यस्ता सन्तानमा बढी हुन्छ । केही महिना ‘तेल भिसा’ मा गएका पाका मान्छे छोराछोरीले उन्नति गरेको, विदेश त यस्तो भनी सामाजिक जमघटमा निकै सुरिन्छन् । तिनका बा आमा यस्ता प्राणी हुन् जो सन्तानका सन्तान जन्मँदा विदेशमा हेरालु राख्न बढी पैसा लाग्ने भएर बोलाउँदा मक्ख पर्छन् । अथवा ससाना कक्षामा पढ्ने नातिनातिनाको पनि ‘ग्र्याजुएसन निम्ता पाएर भिसा पठाएकाले’ गएको भन्न पनि भ्याउँछन् । बिचार गर्नोस्, आफ्नो लास पर्दा टिकट नमिलेको बहानामा दिन घोक्र्याएर सतगत गर्न र बाँकी भएको सम्पत्ति जिप्टाउन आउनेलाई कस्ता सन्तान भन्ने ? बरु बेलैमा आफ्नो हुँदो बिचार गरौँ र बाँकी जीवन सहज बनाउन आर्थिक सुनिश्चितताका लागि के गर्दा उचित हुन्छ भन्ने कुरालाई मनन गरी सतर्क रहौँ । समय रहँदै ‘जीवन एकवारको हो, किन बढी तृष्णा गर्नु?, राम्रो संस्कार पो प्रमुख, सकेको गर्न कसले रोक्ला ?’ भनी फर्कने सन्तान चाहिँ ‘बिहान चारो टिप्न उडेका चराहरू बेलुका गुँड खोज्दै फर्के जस्तै’ हुन है ।
आसिक निर्भर:
कतिपय पाका मान्छेको बाहिर काम गरेका भए पनि नियमित निवृत्तिभरण हुँदैन, भए पनि बजार भाउ अनुसार कम हुन्छ । अब नियमित आय भनेको विभिन्न व्यवधानका बाबजुद अहिले ‘वृद्ध वा एकल वा आरक्षण’का दर्जामा परेका भए नेपालमा अलिअलि मासिक अक्षताझैँ भत्ता पाउँछ । नेपालको कुनै भागमा पनि त्यसले अड्को पड्को टार्न बाहेक मनग्ये लाउन खानै पुग्दैन भने ओखती मुलोको त कुरै छाडौँ । गर्नेका व्यवस्थापनको कमजोरीले त्यही भत्ता पाउन पनि कति सास्ती बेहोर्नुपर्छ र कति ठाउँमा वितरण नै अपायक ठाउँमा गरिएको पाइन्छ । पाका मान्छे सकुशल गई आई गर्न र बेलामा बोलकबोलको रकम पाउन पनि झन्झट भोगेका छन् । आर्थिक अवस्था उच्च भएको परिवारमा ‘भत्ता हँस्यौली’को विषयवस्तु बने पनि ¥याल चुहाउने पनि छन् ।
घरधन्दामा जीवन बितेका र निवृत्तिभरणको लाभ नपाउने मध्यम र निम्न आर्थिक स्तरका पाका मान्छेका लागि भत्ता नियमित भएको ठाउँमा आंशिक भरोसा भएको छ । शरीरले सक्नेछ भने केही काम गरेर अलिकति अर्थोपार्जन होला, पैत्रिक सम्पत्ति छ भने उपयोग केही होला तर पारिवारिक मनमुटाबका कारण पाका मान्छे वयस्कका मेहनतमा आसिक निर्भर हुन पुग्छन् । अझ सामाजिक ठुला कार्य सम्पन्न गर्दा र असाध्य रोगले च्यापेमा त झन् परिवारमुखी भइहाल्छन् । आफूले आर्जन गर्दा बुद्धि नपुर्याई हुरेल दुरेल गर्ने ‘आवारा चरित्र’ले कतिपय पाका मान्छेलाई अहिले पिरोल्छ । ‘सबै थोक सन्तान’ भनी अति ‘माया गर्ने देखाउन र लोक लाज पचाउन’ भनी भएको सम्पत्ति फुर्मासमा सक्ने ‘ठालुपन र बिग्रेका जमिनदार’ चरित्रका पाका मान्छेलाई आसिक निर्भर कोटीतिर झर्न थालेको भन्न सकिन्छ ।
सतर्कता:
परिवारमा त्यही बृद्ध भत्ता पनि ‘सबैको आँखो’ भएको छ भने होस् गर्नोस् । अनि बेलाबखत पाका मान्छेले औषधि चाहिए वा लुगाफाटो नभएको गुनासो गरे ‘भत्ता के गर्न साँचेको त ? पाको गुठुरी, मनलाग्दो गर्न मन लागे खर्च गर्नु नि’ भन्ने व्यङ्ग्य बाण झटारिँदै आएको सुन्नुपर्छ । पाका मान्छेका आवश्यकता सबै त्यसैले पुरा गर्ने जस्तो घुर्की कुनै पनि मागमा कौलासिन्छ । त्यसमाथि कैयौँ पाका मान्छे दीर्घकालीन उपचार गर्नुपर्ने रोग व्याधले आक्रान्त हुन सक्छन् । ‘कति गर्नु ? के अब हिरा ख्वाउनु ?’ भनी नाता कुटुम्बका अघि साइँदुवा हुन टकटकिने बोली बचन परिवारका वयस्कबाट सुनिन थाल्यो भने पाका मान्छेका ‘सुखका दिन गएछन्’ भनी सम्झे हुन्छ । वयस्कहरूले केही काम थाल्ने बहानामा ‘भित्री रकम केही भए दिनोस् आखिरी परेर मागेको, आखिर पछि खाने पनि हामी नै हौँ’ भन्न थाले त झन् ‘बिजोक हुने दिन आयो’ भन्ठाने हुन्छ । थुक तेल गरेर साँचेको हातबाट गुमेपछि फर्कने कुनै सुनिश्चितता छ र ? तपाईँ तेतव्य (तेस्रो तहको व्यक्तित्व) भइसकेको हेक्का राख्नोस् है, अब तपाईँको हैसियत परिवारको प्राथमिकतामा पर्दैन । त्यसैले तपाईँ आउँदा दिन अलि सहजै के गर्दा ? कसरी चल्दा ? हुन्छ भन्नेतिर केन्द्रित हुनु राम्रो हुन्छ ।
कतिपय परिवारमा घरका चल अचल सम्पत्ति ‘अब शरीरले सक्तैन, बेलैमा हामीलाई दिनोस्, बैङ्क वा अड्डातिर आफ्नो नाममा भएका कुरा हाम्लाई सारे पछि तल बितल पर्दा समस्या हुँदैन’ भनी जिउँदै बेदखल बनाउने यत्न गर्लान् ! पाका मान्छेले अन्तिम घडीसम्म पनि स्वामित्व हस्तान्तरण गर्नु आचरण बिग्रेका, अशिष्ट र व्यक्ति बादी परिवारमा ‘अशक्त हुने बेला दुख निम्त्याउने, चाउरे माया’ देखाएको धेरैको भनाई छ । हो, परचक्रिले आफ्नो कालकला वातमा सन्तानलाई दुख देलान् भनी शेखपछि खाने गरी कागजपत्र बनाउन सकिन्छ, तर अहिले नै ‘लटीपटी’ राजीनामा गर्नुहुन्न । बन्धनमा पार्ने अर्को खालको जुक्ति ‘दिएको खाने घर कुर्ने’ आदेश पनि हो । तपाईँ सतर्क हुने र ‘आसिक भए पनि कमाउँछु, सकेको पनि गर्छु, अहिल्यै म कसरी बाँधिएर बस्नु ?’ भन्ने नरम प्रतिउत्तरबाट काम चल्छ कि हेर्नोस् न ! काम नचले परिवार वा हेरविचार गर्नेलाई बाधा नपुर्याई सतर्कतापूर्वक मनको चइनमा सक्रिय हुन छाडन हुन्न ।
परनिर्भर:
मानिस सामाजिक प्राणी हो, अरू सामाजिक प्राणीभन्दा थप मानिसमा विवेक, आत्म चिन्तन र उपाय निकालेर अरूको हितमा पनि काम गर्ने क्षमता हुन्छ । त्यसैले सबै सामाजिक प्राणीमध्ये मानिसमा नै एक अर्कालाई श्रम गरेर पनि सहयोग गर्ने गुण विकास भएको हुन्छ । बिग्रेको संस्कारमा हुर्की बढी त्यसैमा रमाउने व्यक्तिवादीले मात्र यस्ता मानवीय उच्चतम स्वभावलाई लत्त्याएर छोडुवा साँढेजस्तो विनाशकारी जन्तु बन्न प्रयास गर्छन् । त्यस्ताको बाहुल्य परिवारमा असक्त र अदनाले अनाथको व्यवहार पाउँछ भने पाका मान्छेको ‘नरक’ खोज्न अन्त जानै पर्दैन । असाध्य रोग लागेका जुनसुकै उमेर समूहका मानिसलाई अरूको हेरविचार र रेखदेखको आवश्यकता पर्छ । पाका मान्छे कमजोर हुनु स्वाभाविकै छ, त्यसमाथि शारीरिक रूपमा अक्षम हुँदा परनिर्भर भएर हेरविचार गर्नेको भर पर्नु नै पर्छ । यस्तो अवस्थामा आदेश, हैकम, ठुलो बोली, रिस, घुर्की, आवेग तथा अरूलाई चित्त दुखाउने बानी दबाउनै पर्छ । पहिले नगरेको भए पनि अब हरेक कुरामा सहमत, अरूका हरेक बोलीमा सहानुभूतिका ङिच्च अनुहार लगाउन सिक्नै पर्छ । अरूले, विशेष गरी परिवारका सदस्यले भनेका दिएका हरेक कुरामा आफ्नो बानी र चरित्र विपरीत भए पनि ‘हस् हस्’ मात्र होइन ‘मेरो अहोभाग्य, म कति भाग्यमानी !’ भन्न चुक्नु हुन्न ।
आर्थिक रुपले बेलामा मनग्य गरी केही सङ्कलन भएकालाई आफ्नो कब्जामा सम्पत्ति छउन्जेल शरीर हलचल हुन नसक्ने र बोल्न मात्र सके पनि बाँच्न सहज हुनसक्छ । आर्जेको सम्पत्ति बचत नभएको र हेर बिचारको जिम्मा लिनुपर्ने भनिएका पारिवारिक सदस्य बाउँटिएर बचन लगाउने अवस्था भोग्न विवश पाका मान्छेलाई निकै समस्या पर्छ । सबै जिम्मा अरूकै भएपछि पाका मान्छेले आफ्ना दैनिकीलाई पनि त्यस्तै किसिमले चलाउन सोच्नपर्छ । व्यक्तिगत माग वा जिरह छोड्न कोसिस गर्नै पर्छ नत्र ‘खाइपाइ आएको ज्यालादारी जागिर खुस्केको मान्छेको हालत भएको’ रनाहामा पर्न पनि सकिन्छ । आफू असक्त भएपछि धेरै सहन सिक्नुपर्छ र दयामायाले अरूले गरेकोलाई नै ‘जो हात, उही साथ’ भनी चित्त बुझाई बाँचुन्जेल बाँच्नु पर्छ ।
सतर्कता:
खानपान र लुगाफाटोको समेत वास्ता कम हुन थालेपछि सुग्घर सफाइ, मनोरञ्जन र कुशलक्षेमको कुरा त ‘डाँडापारिको स्वर्ग’ भई हाल्छ । यस्तोमा पाका मान्छे गम्भीरतापूर्वक सतर्क हुन पर्छ । सिद्धार्थ गौतमलाई कुहिएको सुँगुरको मासु भिक्षा पात्रमा हाल्दा निर्धक्क र निश्चिन्त ग्रहण गरेको कथामा झैँ खानपिनमा ‘पाएको आफ्नो’ भनी बडो सन्तोषसाथ खाने बानी गर्नुपर्छ । अब मिठो नमिठो र रोजी छाडी गर्ने समय रहेन भनी आफ्नो अगाडी जुरेकोमा चित्त बुझाउनु नै दैनिकी हो भनी बिर्सनु हुन्न । ‘बाघ बुढो भई मृगको सिकार गर्न नसक्ने भएपछि एकै ठाउँमा लम्पट भएर पल्टँदा वरिपरि आउने फटेङ्ग्रा भए पनि सिकार गर्छ रे !’ भन्ने उखान अशक्तको आवश्यकता पूर्तिकै उपमा होला !
‘आफू सुतेको ठाउँमा वर्कन फर्कन सक्नु छैन, अझ देश देशावर डुलेको गफ’ भन्ने घुयेँत्रो आउन थाल्यो भने ‘बढी बोलिएछ’ भनी बोली, तर्क र ढिपीलाई नियन्त्रण गरौँ । अब सतर्क हुनै प¥यो नत्र परिवारका हेरालुको सामान्य कुरा सुन्ने धैर्य पनि गुम्नेछ । बिग्रिएको राजनीतिक सामाजिक मानिसको समाजमा अशक्तको पछि लाग्ने र निमेषभर नछोड्ने असल पात्र सबै घरपरिवारमा नहुन सक्छन् । त्यस्तो अवस्थाका ‘डाँडाका जुनलाई’ बिहानीको सूर्यलाई झैँ जोकोहीले हार्दिक इज्जत नगर्न सक्छ । त्यस्तो परिस्थितिलाई त आउनै नदिन पाका मान्छेले बुझेर ‘जतिन्जेल बाँचिन्छ निश्चिन्त बाँचिन्छ’ भन्ने मन्त्र जप्दै सतर्क हुनु परेन त ? अति आवस्यक खानपान, लुगाफाटो र उपचारमा समेत बेवास्ता हुन थालेमा सहज बनाउन पाका मान्छेले चनाखो भई बरु उपाय सोच्नुपर्छ । नेपालमा मन्दिर र सार्वजनिक ठाउँमा फ्याँकिएका लासहरू प्राय त्यस्तै अवस्थाका सिकार पाका मान्छे धेरै देखिएका छन् । यस हारमा आफू परिएला, बेलैमा सतर्क होऔँ !
अन्त्यमा,
नेपालमा सतहमा देखिएको अराजक संस्कार, अव्यवहारिक चलन, अमानवीय सोचाई र गैर जिम्मेवार व्यवस्थाको मारमा धेरै पाका मान्छे परेका छन् । अशिष्टहरूको हुल र आतङ्कले ग्रसित अवस्थामा पाका मान्छे आफ्ना अनुभवका आधारमा संयमित, शिष्ट र काम लिन सिपालु हुनै पर्छ । सँगालिएका बानी व्यहोरा तिलाञ्जली दिएर भए पनि ‘अकालमा किन मर्नु ? डुब्न लागेकालाई सिन्कै भए पनि आस’ भनेझैँ वरपर भएका, हेर्न बाध्य भएकाहरूको ‘बोलीमा लोली’ मिलाउँदा सहज भए राम्रै होला कि ? अवस्था आ-आफ्नै प्रकारको होला, पाका मान्छेले बाँचिने अगाडीका समय कसरी सहज बनाउने भनी आफैँ सतर्क हुने हो । पहिला सन्तानको हितमा मरि मेटेर नाम, धन र इज्जत कमाएका पाका मान्छेले त्यतिखेर कतिपय आफ्ना ईच्छा आकाँक्षा त्यागेका थिए । अब तिनै सन्तानको माया पाउन र आफ्नो बाँकी समय सहज बनाउन भोगिरहेका अप्ठ्यारा र दुखको पहाड लुकाई जेजस्तो गरिदिएका छन् त्यसमा ‘धन्य’ भन्दै ‘बाँच्नु’ सबैभन्दा राम्रो सतर्कता हुने देखिन्छ । प्रयास गरौँ हाम्रा दिन अझै छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०, ११:०७