हामी त्यो हौँ जे हामी मनाउँछौँ भन्ने गरिन्छ । कदाचित यस भनाइले मानिसले सामूहिक रूपमा गर्ने गर्व र आन्तरिक रूपमा चाहने मौलिकतालाई सङ्केत गर्दछ । यसले संस्कार र संस्कृतिको महत्त्वलाई पनि दर्साउँछ । मानिस सामूहिकता रुचाउँछ । सामूहिकताबाटै उसले निजी भावना अभिव्यक्त पनि गर्दछ । मानिसको यही स्वभावकै उपज समाज र यसका विभिन्न संस्थागत व्यवहारहरू हुन् । समाजले आफूलाई मौलिक रूपमा परिभाषित गर्ने र आफ्नो ऐतिहासिक, सांस्कृतिक र अर्थ राजनीतिक सामर्थ्यको वैधता पुष्टि गर्ने क्रममा विभिन्न मूल्यको स्थापना गर्ने गर्दछ । यसबाट समाजले एकातर्फ यसका सदस्यहरूको मानसिक र शारीरिक सेवा पूर्ति गर्दछ भने अर्कोतर्फ छिमेकी समाजबाट आफू भिन्न भएको सन्देश प्रवाह गर्दछ । त्यस्ता विभिन्न मूल्यमध्ये कुनै विशेष घटना, व्यक्ति वा सन्दर्भको सम्झनामा दिवस या जयन्ती मनाउने प्रचलन एक विशिष्ट संस्कृतिका रूपमा देखा पर्दछ । यकिनका साथ भन्न नसकिए तापनि दिवस या जयन्ती मनाउने परम्परा धेरै पुरानो रहेको अनुमान गर्न सकिन्छ । यस आलेखमा राष्ट्रिय लेखक दिवस वैशाख १६ मा मनाउने सन्दर्भमाथि र लेखक दिवस मनाउने तरिकाबारे सङ्क्षेपमा चर्चा गरिएको छ ।
राष्ट्रिय लेखक दिवस वैशाख १६ को सन्दर्भ:
वैशाख १६ गते नेपाली भाषा–साहित्यको इतिहासमा लाइब्रेरी पर्वको रूपमा परिचित विशिष्ट घटनासँग सम्बन्धित दिन हो । लाइब्रेरी पर्व वि. सं. १९८७ को घटना थियो । त्यस वेला राणा प्रधानमन्त्री ‘श्री ३ महाराज’ भीमशमशेर थिए । राणा शासकहरूमध्ये पनि भीमशमशेर कठोर मानिन्थे तथापि उनैले देशमा नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारीमा भाषाको उन्नति गर्न भनेर इस्तिहार जारी गरे । यता काठमाडौँका केही नेवारी भाषी सचेत युवामाझ नेवारी मातृभाषाको साहित्यको पुनर्जागरण गर्नुपर्यो भन्ने चेतना पलाउँदै थियो । यस्तो चेतना जाग्नुमा भारतको बङ्गाल प्रान्तमा मातृभाषालाई दिइएको प्राथमिकताले काम गरेको थियो । ती युवाले भीमशमशेरको इस्तिहारबाट प्रभावित भएर पठन संस्कृतिको विकास तथा देश विदेशका कुरा थाहा पाउन पुस्तकालयको आवश्यकता महसुस गरे । उनीहरूमा जनस्तरबाट पुस्तकालय स्थापना गरी वादविवाद तथा देश विदेशका सूचना लिने मञ्च खडा गर्ने सोच पलायो । ती युवा भारतमा भइरहेको अङ्ग्रेज धपाऊ अभियान र त्यसले ल्याएको नवजागरणसँग सुपरिचित थिए । यस्ता युवामा योगवीरसिंह कंसाकार, तुलसी मेहर र भर्खर मात्र भीमशमशेरको अनुमतिले नेपाल प्रवेश गर्न पाएका कृष्णप्रसाद कोइराला मुख्य थिए । उनीहरूबिच सरस्वती गुठी नामक संस्था खोली सामाजिक कार्य गर्ने अनि भारतमा भइरहेको क्रान्तिबारे काठमाडौँका युवालाई सुसूचित गर्ने उद्देश्यमा पनि छलफल भएको थियो । उनीहरूले त्रिचन्द्र कलेजका साथै भारतबाट अध्ययन गरेर फर्केका अन्य पढेलेखेका युवालाई पनि पुस्तकालय स्थापना गर्ने उक्त अभियानमा सामेल गराउन चाहे । त्यस्तो पुस्तकालय महेन्द्र बहालमा राख्ने योजनासहित ४५ जना युवाले श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्न हस्ताक्षर अभियान चलाए । हस्ताक्षर गराउने जिम्मा बैकुण्ठप्रसाद लाकौलले पाएका थिए । केही समयपश्चात् हस्ताक्षर सङ्कलन समेत भइवरी दरबारमा पत्र बुझाइयो । तर, अर्का युवा रामचन्द्र अधिकारी हस्ताक्षरकर्ता युवाको अभियान राजनीतिक उद्देश्यको भएको र उनीहरूले श्री ३ को गाथ गादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए । यसरी सरस्वती गुठी नामक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय खोल्ने कार्यलाई राजनीतिक आवरणको आरोप लागेपछि दरबारले पत्रका हस्ताक्षरकर्ता सबैलाई पक्राउ गर्न उर्दी जारी गर्यो । अधिकांश हस्ताक्षरकर्ताहरूलाई पक्राउ गरी बयान लिने क्रममा उक्त घटनालाई लाइब्रेरी पर्व भनी मुद्दा जाहेर भयो । वि. सं. १९८७ वैशाख १६ र १७ गते गते पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई पक्राउ गरियो ।
त्यसरी पक्राउ परेका युवालाई दरबारबाट विभिन्न सजाय ताकियो । तीमध्ये उमेश शाहलाई देश निकाला गरियो भने मैनाबहादुर, खड्गमान, रङ्गनाथ आदिलाई जन्मकैदको सजाय सुनाइएको थियो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइरालालगायतलाई रु. १०० जरिवाना र १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडियो । राज खानदानका भएर पनि दुनियाँका छोराहरूका साथ हिँडेको भनी जितेन्द्रबहादुर शाह र पद्म शाहलाई जनही रु. १००० जरिवाना गरिएको थियो । पुस्तकालय खोल्न पाऊँ भनी पत्रमा हस्ताक्षर गर्ने ४५ जना युवामध्ये केहीको नामावली यस प्रकार छ:
१) कृष्णप्रसाद कोइराला २) चित्तधर हृदय ३) योगवीरसिंह कंसाकार ४) हर्षदास तुलाधर ५) लक्ष्मीप्रसाद देवकोटा ६) सिद्धिचरण श्रेष्ठ ७) महेन्द्रविक्रम शाह ८) शंकरदेव पन्त ९) हरिकृष्ण श्रेष्ठ १०) बैकुण्ठप्रसाद लाकौल ११) प्रेमबहादुर कंसाकार १२) धर्मराज थपलिया (कैद) १३) जितेन्द्रबहादुर शाह (रु. १००० जरिवाना) १४) कृष्णप्रसाद खतिवडा १५) तुलसी मेहर १६) चन्द्रबहादुर १७) मदनबहादुर १८) कृष्णदेव भट्टराई १९) धर्मवीर सिंह २०) सिद्धिरत्न कंसाकार २१) झंकनाथ उपाध्याय २२) लीलाराज तुलाधर २१) नारायण मल्ल २२) तिलकमणि आ.दी. २३) पद्मबहादुर शाह (रु. १००० जरिवाना) २४) केशवबहादुर क्षेत्री २५) नारायणभक्त २६) वासुदेव शर्मा २७) खड्गमान न्यौपाने २८) लक्ष्मीरञ्जन जोशी २९) भैरवप्रसाद जोशी ३०) ठाकुरनाथ ३१) शंकरप्रसाद नेपाल ३२) राजाराम शर्मा ३३) वसन्तमणि आ. दी. ३४) चित्रधर उपासक (पंगेनी, २०६८) ३५) उमेश शाह ३६) मैनाबहादुर ३७) रङ्गनाथ ।
यसरी हेर्दा लाइब्रेरी पर्व नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा भाषिक इतिहास समेट्ने एक बहु आयामिक घटनाका रूपमा देखा पर्दछ ।
लाइब्रेरी पर्व राणा प्रधानमन्त्री भीमसमशेरको देशमा बहुभाषाको उन्नती होस् भन्ने ध्येयको उपज थियो ।
लाइब्रेरी पर्व सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गर्ने उद्देश्यसँग जोडिएको घटना थियो ।
लाइब्रेरी पर्वले राजनीतिक, साहित्यिक, सामाजिक तथा सांस्कृतिक चेतना भएका युवाहरूको सामूहिक अभियानको प्रतिनिधित्व गर्दछ ।
लाइब्रेरी पर्व मातृभाषाको संरक्षण र मातृभाषी साहित्यको उत्थानसँग सम्बन्धित घटना देखा पर्दछ ।
लाइब्रेरी पर्व लेखक÷स्रष्टाहरूले सामूहिक रूपमा दण्ड र सजाय पाएको बृहत् घटनाको प्रतिनिधित्व गर्दछ ।
लाइब्रेरी पर्वले पठन संस्कृतिको आवश्यकता र महत्त्वको प्रतिनिधित्व गर्दछ ।
लाइब्रेरी पर्वले परम्परागत नेपाली समाज आधुनिकतातर्फ रूपान्तरण हुने क्रममा रहेको समयको प्रतिनिधित्व गर्दछ ।
निष्कर्ष
लाइब्रेरी पर्व नेपाली लेखक साहित्यकार तथा बुद्धिजीवीहरू सहभागी भएको एक ऐतिहासिक तथा बहु आयामिक अभियानको रूपमा देखा पर्दछ । यस पर्वले संस्था, साहित्य, राजनीति, समाज, संस्कृति र मातृभाषाको प्रत्यक्ष रूपमा सम्बोधन गरेको देखिन्छ । लेखन, प्रकाशन तथा वैचारिक स्वतन्त्रता जस्ता पक्षहरू समेत लाइब्रेरी पर्वले समेट्ने देखिन्छ । लेखकहरूका लागि त पुस्तकालय जीवित बिम्ब नै हो । नेपालमा राजनीतिक दल गठन हुनुभन्दा अगाडिको अभियान भएको हुनाले लाइब्रेरी पर्व घटित भएको समयमा वैचारिक आधारमा लेखक बुद्धिजीवीहरू विभाजित भएको पनि देखिँदैन । यस अर्थमा उक्त पर्व सबै लेखक साहित्यकारहरूका लागि साझा पर्वका रूपमा देखा पर्दछ । लाइब्रेरी लेखकहरूका लागि एउटा जीवित संस्था हो भने सामाजिक हिसाबले सूचना र जागृतिको केन्द्र हो । राजनीतिक हिसाबले सङ्गठन र प्रशिक्षणको लागि मञ्च हो लाइब्रेरी । अभिव्यक्ति र प्रकाशन स्वतन्त्रताको बिम्ब पनि हो लाइब्रेरी । यस अर्थमा लाइब्रेरी पर्वको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक आयाम र प्रभावको मूल्याङ्कन स्वरूप नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने आधार भेटिन्छ ।
त्यस कारण यसका अभियन्ता लेखक बुद्धिजीवीहरूलाई पक्राउ गरेको मिति १९८७ साल वैशाख १६ र १७ गते मध्ये सुरु दिन वैशाख १६ गतेलाई लेखक दिवस मनाउनु उपयुक्त हुने देखिन्छ ।
राष्ट्रिय लेखक दिवस कसरी मनाउने ?
विभिन्न दिवस मनाउने ऐतिहासिक तौरतरिकाको अध्ययनका आधारमा नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने सम्बन्धी केही तौरतरिका यहाँ प्रस्ताव गरिएको छ:
लेखकहरूबीच आपसमा शुभकामना साटासाट गर्ने ।
पुस्तक उपहार दिने ।
कुनै नयाँ रचना या पुस्तक लेख्ने या प्रकाशन गर्ने, पुस्तक पत्रिका विमोचन गर्ने ।
लेखकहरू पुस्तकालयमा भेला भई रचना सुन्ने, सुनाउने र पढ्ने ।
भाषा साहित्य विषयक अन्तर्क्रिया तथा विमर्श गर्ने ।
लेखकहरूको योगदानको परिचर्चा र मूल्याङ्कन गर्ने ।
विभिन्न गोष्ठी सभा समारोहको आयोजना गरी साहित्य संस्कृति र साहित्यिक सामाजिक । संस्थाहरूले जनजागरणमा खेल्ने भूमिकाबारे बहस गर्ने ।
मातृभाषाको संरक्षण, जगेर्नासम्बन्धी कार्यक्रम गर्ने साथै मातृभाषाको साहित्य सिर्जना गर्ने ।
कुनै नयाँ सामाजिक तथा साहित्यिक संस्था स्थापना गर्ने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०, १८:१६