बाँके । बाँकेको डुडुवा गाउँपालिकामा हिजो आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।
डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएका १६ वर्षका नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले आगलागी पीडितलाई राहत वितरणको तयारी गरिएको पनि बताउनुभयो ।
आगलागीबाट ४० लाख भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बाँकेका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले तत्कालका लागि प्रति परिवार ३ हजार रुपैंया राहत दिने तयारी भएको जानकारी दिनुभयो ।
आगलागीबाट खरको छानो भएका अस्थायी प्रकृतिका घर बस्न नमिल्ने गरि जलेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६, ०९:०८