काठमाडाैँ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास 'भग्न भैरव' सार्वजनिक भएको छ । काठमाडौंको शिल्पी थिएटरमा शनिबार आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गर्नुभएको हो ।
आफूलाई नै कथावाचक बनाएर लेखिएको उपन्यासबारे रोचक घिमिरेले 'भैरव र आफ्नो' सम्बन्धसँग सम्बन्धित रोचक संस्मरण सुनाउनुभयो । आफूले देखेका, भोगेका र आजसम्म भैरव अर्यालबारे संकलन भएका तथ्यहरू सिन्धुलीयलाई उपलब्ध गराएर उपन्यास लेख्न लगाएको उहाँको भनाइ थियो ।
लेखक नारायण ढकालले विश्वप्रसिद्ध चित्रकार भ्यानगगको आत्मजीवनीपरक उपन्याससँग तुलना गर्दै भग्न भैरवको तारिफ गर्नुभयो।
त्यस्तै कवि ज्योति जङ्गलले हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको बौद्धिकता, शिल्प र हास्यचेतको चर्चा गर्दै उपन्यासको भाषा-शैली र प्रस्तुतिको चर्चा गर्नुभयो ।
लेखक सिन्धुलीयले भैरव अर्यालको जीवनीमा आधारित उपन्यास लेख्न रोचक घिमिरेले प्रेरित गरेको बताउनुभयो । बुकहिलले सार्वजनिक गरेकी ३०२ पृष्ठको सो उपन्यासको मूल्य ५५५/- रुपैयाँ राखिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०, १६:१५