काठमाडौँ । आर्थिक मन्दीको प्रभाव नेपालको हस्तकला व्यवसायमा पनि परेको छ ।
अन्तराष्ट्रिय बजार साँघुरिदा चालु आर्थिक वर्ष हस्तकला निर्यात २० प्रतिशतले घटेको छ ।
गएको साउनदेखि चैत मसान्तसम्म ९ अर्बको हस्तकलाका सामग्री निर्यात भएको हस्तकला व्यवसाय महासङ्घले जनाएको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कम हो ।
कोरोना महामारी र रूस युक्रेन युद्धपछि विश्वभरी बढेको आर्थिक मन्दिका कारण अन्तराष्ट्रिय जगतमा नेपाली हस्तकलाको सामग्रीको माग नै घट्दा निर्यात पनि घटेको महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बताउनुभयो ।
तर, चिनिया नाका खुलेकोले अब हस्तकलाको निर्यात बढ्ने सम्भावना रहेको अध्यक्ष शाक्यको भनाइ छ ।
अहिले ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुने गरेको छ ।
सरकारले निर्यातमा आधारित अनुदानको व्यवस्था गरे निर्यात बढाउन सकिने महासङ्घले बताउँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १०:०८