काठमाडाैँ । फागुन १९ गतेदेखि उपत्यकाका तीन वटा रङ्गशालामा ए डिभिजन लिग फुटबल चलिरहेको छ । प्रतियोगितामा यस पटक विदेशी खेलाडीको वर्चस्व बढेको छ । स्वदेशी लिगमा विदेशी खेलाडीको वर्चस्व दर्शकलाई पनि चित्त बुझेको छैन । लिग हेर्नकै लागि झापाबाट काठमाडौँ आउनुभएका विप्लव दाहाललाई लाग्छ, प्रतिभावान खेलाडी बाहिर जाँदा लिग नै खल्लो भइरहेको छ । विप्लव भन्नुहुन्छ–‘यो लिग भनेको घरेलु टोली र घरेलु खेलाडीको स्तर बढाउन सञ्चालन गरिएको हो । तर मैदानमा विदेशी खेलाडी उतारेर हाम्रा खेलाडीको स्तर कहाँ बढ्छ र ?’
गएको एक वर्षमा ४० जना फुटबल खेलाडी बिदेसिएका छन् । यही समयमा लिग खेल्नकै लागि नेपाल आर्मी बाहेकका १३ वटा क्लबले विदेशी खेलाडी भित्र्याएका छन् । उनीहरूको प्रदर्शनबाट नेपाली खेलाडीलाई केही सिक्ने अवसर मिलिरहेको छ । तर, बाराका गजेन्द्र चौधरी पनि पलायन भएका अनुभवी खेलाडीको अभाव मैदानमा देखिएको बताउनुहुन्छ । ‘हुन त विदेशी खेलाडीले पनि आफ्नो टिमका लागि मरेर खेलिरहेका छन्, तर किन किन गोल चैँ हाम्रै खेलाडीले गरे हुने जस्तो लाग्छ,’ गजेन्द्र भन्नुहुन्छ, ‘मैदानमा सन्तोष तामाङ, हेमन गुरुङहरू मिस भइरहेका छन् ।’
सन्तोष र हेमनसहित राष्ट्रिय टोलीका गोलरक्षक एलन न्यौपाने, आशिष् लामा, सुमन लामा, दर्शन गुरुङ, जस्ता झन्डै ४० जना खेलाडी पछिल्लो समय बिदेसिएका छन् । विमान चढ्नुअघि उनीहरूले भविष्यको सुनिश्चितता नै बिदेसिनुको कारण भनेका थिए ।
कारण जे होस्, अनुभवी खेलाडी बिदेसिँदाको असर देखिन थालिसकेको एन्फाको तयारी समितिका संयोजक समेत रहनुभएका पूर्व खेलाडी मनिष जोशी बताउनुहुन्छ । ‘अहिले नै ए डिभिजनको स्तर घटिसक्यो, खेलाडी पलायन रोकिएन भने भविष्यमा झन् बिग्रने निश्चित छ’ उहाँले भन्नुभयो । वर्षौँ लगाएर तयार भएका खेलाडी बाहिर जाँदा नेपाली फुटबलको भविष्य नै सकिने खतरा बढेको उहाँ बताउनुहुन्छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय खेलाडीलाई दिने पारिश्रमिक मासिक १८ हजार रुपैयाँ मात्रै छ । लिग र अन्य प्रतियोगिता निरन्तर भए स्थापित खेलाडीले वर्षमा १० लाख रुपैयाँसम्म कमाउन सक्ने दाबी खेल क्षेत्रका जानकारहरू गर्छन् । तर त्यो अवसर सधैँ र सबैका लागि छैन । राष्ट्रिय टोलीका पूर्व सदस्य बिराज महर्जन पनि पलायन हुनु खेलाडीको बाध्यता रहेको बताउनुहुन्छ ।
‘घर परिवार छोडेर काठमाडौँमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता हुन्छ, महँगी उस्तै बढिरहेको छ । खेलेर जेनतेन जीवन त धानिएला तर भविष्य के ?’ विराजको मनमा उठ्ने यो प्रश्नको जवाफ छैन ।
राष्ट्रिय टोलिमा छनोट हुनुअघि खेलाडीले कम्तीमा १५ वर्ष सङ्घर्ष गर्छ । अनि ३० पुग्दा नपुग्दै राष्ट्रिय टोलीबाट बिदा लिनुपर्छ । यस हिसाबले सातै वर्षको उमेरदेखि फुटबल खेलमा लागे पनि राष्ट्रिय खेलाडीका रूपमा १० वर्षभन्दा बढी मैदानमा रहन सक्दैन । अनि यही बिचमा उसले भविष्यको सुनिश्चितता खोज्छ, तर भेट्दैन ।
बिराज भन्नुहुन्छ, ‘खेलाडीमा विदेश मोह बढ्नुको मुख्य कारण यही हो ।’
खेलाडी बिदेसिँदा पर्ने असरप्रति एन्फा पनि बेखबर छैन । तर प्रवक्ता सुरेश शाह भने एकल प्रयासले मात्रै रोक्न नसकिने दाबी गर्नुहुन्छ ।
‘सरकारले हामीलाई दिने बजेट कति छ ? के त्यसमा हामीले अहिले भइरहेका गतिविधि पनि चलाउन सक्ने अवस्था छ ? यो गम्भीर विषय हो जसमा राज्यले सोच्नुपर्नेछ ।’ उहाँले भन्नुभयो ।
खेलकुद राज्यको प्राथमिकतामा नहुँदा त्यसको मारमा फुटबल पनि परेको शाहको तर्क छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १५:३५