काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । पहिले ब्याटिङ गरेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पानी परेपछि रोकिएको खेल आजलाई स्थगित गरिएको हो ।
बाँकी खेल भोलि (मङ्गलबार) आजकै अवस्थाबाट सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल विहान ९ बजेबाट कीर्तिपुरमै हुनेछ । 'रिजर्भ डे' राखिएकोले प्रतियोगिताको नियमअनुसार बाँकी खेल मङ्गलबार खेलाउने निर्णय गरिएको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै यूएईलाई दबाबमा राखेको हो । नेपालका लागि ललित राजबंशीले तीन, सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिनुभयाे । ललितले २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि खेल रोकिएको थियो । त्यसअघि पनि वर्षाका कारण खेल एकपटक रोकिएर फेरि सुरू भएको थियो ।
भोलि पनि पानी परे सुपर ओभर (एक एक ओभरको खेल) बाट खेलको नतिजा निकालिने छ । सुपर ओभर पनि सम्भव नभए आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०