काठमाडाैँ । सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि छुट्याउने भएको छ । माइतीघर मण्डलमा शुक्रबारदेखि धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग सोमबार सातबुँदे सहमति गर्दै सरकार यसका लागि तयार भएको हो । सहमित पत्रमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गर्नुभएको छ ।
यस्तै, अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी काम एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पारि संघीय संसदको आउँदो अधिवेशनबाट पास गर्ने,आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमति भएको छ ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ । सहमतिसँगै पुनले मण्डलमा थालेको धर्ना पनि स्थगित भएको बताउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १७:५०