काठमाडाैँ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनले नेपालीको प्रतिब्यक्ति आम्दानी बढेको देखाएको हो ।
गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन बढेकाले प्रतिव्यक्ति आम्दानी पनि सोही दरले बढेको हो । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
नेपाली रुपैयाँमा प्रतिव्यक्ति आम्दानी बढेको देखिए पनि अमेरिकी डलरमा भने गत वर्षकै बराबर छ । यो अवधिमा अमेरिकी डलरको विनिमय दर पनि बढेकाले त्यसलाई समायोजन गर्दा डलरमा प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ नै कायम भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सिमित हुने भएको छ । चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २ दशमलव १६ प्रतिशत मात्र हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको हो । यस्तै, उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको छ ।
नेपालको अर्थतन्त्रको आकार चालु आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । एसियाली विकास बैंक र विश्व बैंकले सन २०२२ र २३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत हुने अनुमान गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०, १६:३३