काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।
यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा कार्यरत रहँदा उपसचिव भट्टराईले सेवा प्रवेश गरेको २०३८ साल साउन १ देखि २०७५ साल मंसिर मसान्तसम्मको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयाे ।
उपसचिव भट्टराईको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रूपैयाँ र खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको प्रवक्ता दाहालले बताउनुभयो । अख्तियारले भट्टराईले स्रोत खुलाउन नसकेको १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।
अख्तियारल उपसिचव भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पाइएकाले उक्त रकम जफत गर्न तथा आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०, १७:१२