काठमाडौँ । हत्या अभियोगमा अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बन भएका छन् । सभामुख देवराज घिमिरेले मङ्गलवार कोइरीलाई निलम्बन गर्ने निर्णय गर्नुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो ।
निलम्बनको निर्णय भइसकेको र सूचना संसद् सचिवालयमा टाँस गर्ने प्रक्रियामा रहेको उहाँले बत्ताउनुभयो । मङ्सिर ४ मा भएको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् । निर्वाचन अघि नै अदालतले दोषी ठहर गरेका कोइरीलाई एमालेले उम्मेदवार बनाएको थियो ।
२०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या गरेको अभियोग पुष्टि गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले फरार सूचिमा राखेका कोइरी निर्वाचनको चुनाव प्रचारका साथै शपथ ग्रहणका बेला संसद्मै उपस्थित भए पनि पक्राउ परेका थिएनन् ।
संसद् सचिवालयले कोइरी बिरामी बिदामा रहेको बताउँदै आएको थियो । गत आइतबार प्रहरी प्रधान कार्यालयले कोइरी फरार सूचीमा रहेको जानकारी गराउँदै संसद् सचिवालयलाई दोस्रो पटक पत्राचार गरेसँगै उनलाई निलम्बन गर्न दबाब बढेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०, १७:३६