काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको बिजेता वन्दै एसिया कपका लागि छनोट भएको छ । मङ्गलवार भएको फाइनलमा युएईलाई ७ विकेटले हराएसँगै नेपालले यो दोहोरो उपलब्धि हात पारेको हो । सोमबार नेपालले उत्कृष्ट बलिङ गर्दै युएईलाई दबाबमा राखेसँगै फाइनल जित्ने समर्थकको आशा बढेको थियो । त्यसै कारण पनि मङ्गलवार हजाराैँ समर्थक कीर्तिपुर पुगेर नेपाली टोलीको हौसला बढाएका थिए ।
हातमा राष्ट्रिय झन्डा र विभिन्न नारा लेखेका ब्यानर बोकेका तथा गालामा राष्ट्रिय झन्डा पोतेका समर्थकले खेलाडीलाई हौसला मात्र होइन व्यवस्थापनलाई समेत व्यङ्ग गरिरहेका देखिन्थे । नेपालले ११८ रनको सामान्य लक्ष्य पाएसँगै खेलाडी र समर्थकको उत्साह चुलियो । तर नेपालले सोचेजस्तो सुरुवात गर्न नसकेपछि समर्थकहरू सतर्क बनेका देखिन्थे ।
८ ओभरमा २२ रन बनाउन ३ विकेट गुमेसँगै कीर्तिपुर मैदान मौन देखिन्थ्यो । पानीले भिजेको पिचमा यूएईको बलिङ सामु नेपाली ब्याटरको जोर नचल्ने हो कि भरेर समर्थक सबै झस्किएका थिए । तर तेस्रो नम्बरमै ब्याटिङका लागि पठाएर एउटा प्रयोग गर्ने प्रशिक्षक मोन्टी देसाइको निर्णय सही साबित गर्दै गुल्सन झाले ६७ रन बनाउनुभयो । उहाँलाई अर्कोतिरबाट भीम सार्कीको भरपर्दो साथ रह्यो ।
फलतः चाैथाे विकेटका लागि अविजित ९६ रनको साझेदारी गर्दै गुल्सन र भीमले नेपाललाई जीत दिलाउनुभयो । यो जितसँगै खेलाडी र हजाराैँ समर्थकको अनुहारमा समेत च्याम्पियन चमक झल्किन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०, १७:५८