काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको विजेता बन्दै एसिया कप क्रिकेटका लागि छनोट भएको नेपाली पुरुष क्रिकेट टोलीका खेलाडी प्रशिक्षक र अफिसियलहरूलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई प्रोत्साहन स्वरूप जनही ६ लाख रुपैयाँ र अफिसियलललाई जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको पनि सचिवालयले जनाएको छ ।
वैशाख १९ मा भएको फाइनल खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको थियो । यो निर्णयले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको पनि सचिवालयले जनाएको छ ।
मङ्गलवार भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको विजेता बनेको हो । यससँगै नेपालले एसिया कप क्रिकेट पनि खेल्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०, १५:२९