काठमाण्डौँ । उपराष्ट्रपति राम साहय प्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हेयको देष्टिले हेर्ने पुरातन दृष्टिकोणका कारण मानसिक स्वास्थ्य समस्या अझ बढी संवेदनशील बनेको बताउनुभएको छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) को स्थापनाकालको २० औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेकाले नेपाल सरकारको योजना बमोजिम सरकारको प्रयत्नहरूमा सीएमसी नेपालको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
अरु गैर सरकारी क्षेत्रको हातेमालो पनि आवश्यक रहेकोमा उहाँले जोडदिनुभयो ।
उक्त कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदारहरू सबै मिलेर यसका निम्ति थप लगानी आवश्यक परेको बताउनुभयो ।
“मानसिक स्वास्थ्यको क्षेत्रमा राज्य र गैर सरकारी क्षेत्रको कामले नै सेवा प्रधान सम्भव छ । अझै जेल जीवन बिताइरहेका व्यक्तिहरूलाई मानसिक स्वास्थ्यमा समेत ध्यान दिन जरुरी छ ।” उपसभामुख रानाले भन्नुभयो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले आत्महत्या रोकथाम र सहरी विकास अन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गर्ने बेला आएको धारणा राख्नुभयो ।
मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण कार्य भनेको सचेतना फैलाउनु र भ्रम निवारण गर्नु रहेको उल्लेख गर्दै यसमा सीएमसी नेपालको भूमिका उल्लेख्य भएको स्वास्थ्य सचिव पोखे्रलले बताउनुभयो ।
२० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सीएमसी नेपालको यस अवधिमा गरिएका कार्यक्रमहरूको बारेमा संस्थाका प्राविधिक निर्देशक डा. पशुपति महतले प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मैना कार्की, नेपालका लागि स्वीजरलेण्डका राजदुत इलिजा भान क्यापलरलगायतले मानसिक स्वास्थ्य अझै प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
२० औं वार्षिकोत्सवको सन्दर्भमा स्मारिका विमोचन गर्नुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल, इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत नसर्ने तथा मानसिक स्वास्थ्य एकाईका प्रमुख डा. फणिन्द्र बराल, वरिष्ठ मानसिक रोग विशेषज्ञहरु, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग प्रमुख प्रोफेसर डा. नन्दिता शर्मालगायतको सहभागितामा छलफल गरिएको थियो ।
सीएमसी नेपालले सन् २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ विभिन्न १५ वटा परियोजना सञ्चालन गर्नुका साथै हाल ५१ जिल्लाका २ सय ६ स्थानीय तहमा काम गर्दै आइरहेको छ ।
सीएमसी नेपालका अध्यक्ष एसपी कलौनीको अध्यक्षतामा भएको समारोहमा उत्कृष्ट सेवा पदक, विषयगत सेवा पदक र संस्थामा महत्वपूर्ण योगदान गर्ने कर्मचारी, संस्थाका संस्थापक एंव दातृ निकायहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १७:३७