काठमाडौँ । समुदायका सवालमा सक्रिय संस्थाहरूबिच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको कार्यालय ललितपुरमा आज भएको सामुदायिक विद्यालय व्यवस्थापन महासङ्गका पदाधिकारीसँगको छलफलमा समुदायको विकासका लागि स्थापना भएका स्वयमसेवी चरित्रका संस्थाहरूबिच सहकार्य गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
कार्यक्रममा महासङ्घका अध्यक्ष गुणराज मोक्तानले देशभरिका ८० प्रतिशत विद्यार्थी अध्ययनरत रहेको २८ हजार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने विषयमा सबै क्षेत्रको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
अहिले जीवनको सिकाइका लागि नभई मार्क सिटमा अङ्क धेरै ल्याउनका लागि मात्र जोड दिने परिपाटी विकास भइरहेको उल्लेख गर्दै सबैले आफ्ना हकहितका कुरा मात्र गर्ने गरेको तर विद्यार्थीको पढाइ राम्रो भएन भन्ने विषय नउठ्ने गरेकोमा दुख व्यक्त गर्नुभयो ।
सामुदायिक विद्यालयलाई राम्रो बनाउन सक्नु सबै क्षेत्रलाई राम्रो बनाउनु भएको भन्दै यसमा सामुदायिक रेडियोसहित सामुदायिक चरित्र बोकेका सबै सङ्घ संस्थाले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले पछिल्लो समय सामुदायिक आन्दोलन केही कमजोर भएको महसुस भइरहेको र सरकारले पनि सामुदायिक संस्थाहरूलाई पेल्दै लगेको बताउनुभयो ।
समुदायका ढुकढुकीका रूपमा रहेका सामुदायिक रेडियो, सामुदायिक विद्यालय, सामुदायिक वन, सामुदायिक अस्पताल लगायतको विकास विना दिगो विकास असम्भव भएकाले यस्ता संस्थाहरू एकजुट भएर सँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महासङ्घका कर्णाली प्रदेश अध्यक्ष कृष्ण कोइरालाले सामुदायिक संस्था र समुदायबिचको सम्बन्ध पनि हुनुपर्ने जस्तो सुमधुर हुन नसकिरहेको जस्तो देखिएको भन्दै यसका लागि सामुदायिक मूल्य र मान्यता बोकेका विभिन्न सङ्घ संस्थाबिच समन्वय र सहकार्य जरुरी भएको बताउनुभयो । यसो गर्न सके सामुदायिक मूल्य र मान्यता अझ बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।
महासङ्घका संस्थापक अध्यक्ष कृष्ण थापाले सामुदायिक विद्यालयले देशको सेवा गर्ने जनशक्ति उत्पादन गरिरहेका तर सामुदायिक विद्यालय नै राज्यको प्राथमिकतामा नपर्नु दुखद भएको र यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
महासङ्घका महासचिव देवी खड्काले सामुदायिक विद्यालयका एकाध नराम्रा पक्ष मात्र सञ्चारमाध्यममा प्राथमिकताका साथ आउने गरेको तर सामुदायिक विद्यालयले अनेकौँ समस्या र अभावकाबीच गरेका राम्रा कामको सुनुवाइ हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
उहाँले समुदायको सर्वाङ्गीण विकास हुन सके मात्र देशकै विकास हुने भएकाले सामुदायिक विद्यालयको विषयलाई सबैले अपनत्व लिनुपर्ने बताउनुभयो ।
अकोराबका कार्यकारी निर्देशक वालकृष्ण पोखरेलले सामुदायिक विद्यालय र शिक्षाका विषय सीआईएनमार्फत देशैभरका सामुदायिक रेडियोमा प्राथमिकताका साथ उठ्ने गरेको र थप सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०, १५:२२