काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको पहिलो दिन दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुनेछ ।
अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो ।
आजको बैठकमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच हिजो सहमति भएको थियो ।
संसदको प्रभावकारी सञ्चालनका बारेमा छलफल गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
सभामुख देवराज घिमिरेले अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा अस्ति राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।
एक सय १० दिन चलेको संसदको पहिलो अधिवेशनमा ९२ घण्टा ३० मिनेट बैठक बसे पनि कुनै पनि विधेयक पारित हुन सकेन ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०, १०:०४