काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा १ अर्बभन्दा धेरैले धान आयात बढेको छ । भन्सार विभागका अनुसार गत ९ महिनामा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ ।
गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको धान आयात भएको थियो । धानको बीउको आयात पनि ५ करोड रूपैयाँ भन्दा बढीले बढेको छ ।
धानको बीउको लागि मात्रै यो अवधिमा २९ करोड ६३ लाख ९५ हजार रूपैयाँ बाहिरिएको छ ।
गत वर्ष भने २४ करोड ८३ लाख ७९ हजार रूपैयाँको धानको बीउ आयात भएको थियो ।
पछिल्लो समय धान र धानको बीउ आयात बढ्नुको एकिन अध्ययन नभए पनि किसानहरूमा हाईव्रिड धानप्रतिको आकर्षण हुनसक्ने कृषि विभागका निर्देशक जानुका पण्डितले सीआईएनसँग बताउनुभयो ।
तर चालु आर्थिक वर्षमा चामल आयात भने घटेको छ ।
यो नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ ।
गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रूपैयाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०, १०:२०