काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिसको बारेमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।
साँझ बस्ने बैठकमा सहमति भए प्रधानन्यायाधीश सिफारिस हुनसक्छ ।
यही वैशाख ६ मा पनि परिषद्को बैठक बसेको थियो तर सहमति हुन सकेको थिएन ।
प्रधानन्यायाधीशको सिफारिस अघि संसदीय सुनुवाइ विशेष समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि राख्दै आएको थियो ।
हिजोको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले ३ दिनभित्र संसदीय सुनुवाइ विशेष समितिमा रहने सदस्यको नाम दिन दलहरूलाई अनुरोध गर्नुभएको छ ।
सर्वोच्च्का कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सरकारमा रहेका दलले भावी प्रधानन्यायाधीशका रूपमा अगाडि सारे पनि उहाँका बारेमा एमाले सकारात्मक नभएको विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०, ०९:४१