काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ५ का २ सय ४० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
४६ वर्षदेखि लालपूर्जाविहीन उनीहरूलाई २ सय ७ नम्बरको एउटा कित्तामा रहेको २८ रोपनी जग्गाको लालपुर्जा दिइएको हो ।
२०३४ सालमा जग्गा दर्ता भए पनि विविध कारणले पुर्जा वितरण हुन सकेको थिएन ।
भोगचलन भए पनि पूर्जा नहुँदा स्थानीयबासीलाई समस्या भएको थियो ।
जनप्रतिनिधिको विशेष पहलमा भूकम्प प्रभावितहरूले पुनर्निर्माणको काम भने गर्न पाएका थिए ।
२०६७ सालमा डिजिटल नापी भएकोमा त्यसको १३ वर्षपछि जग्गाधनी पुर्जा वितरण गर्न सफल भएको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले बताउनुभयो ।
नापी भए पनि सीमा विवाद, भूकम्प, कोरोनालगायतका कारण पुर्जा वितरण गर्न ढिलाई भएको श्रेष्ठको भनाइ छ ।
लालपुर्जा प्राप्त नगरेका वा छुट भएका नागरिकहरूको हकमा भने पुनः नाप जाँच गराएर वितरण गर्ने कार्यमा समन्वय गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नापी कार्यालय बनेपाका प्रमुख सरस्वती धितालले पनि छुट भएका नागरिकहरूलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गर्नुभयो ।
जग्गाधनी पुर्जा नभएका कारण भोग्नु परेको समस्याबाट मुक्त हुने भएपछि स्थानीयबासी खुसी भएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०