उहिले उहिले जस्तो हरेक जिल्लाका साना ठुला बजारमा सिनेमा हलहरूमा चलचित्र हेर्ने समय रहेन । यसै पनि मलाई नयाँ चलचित्र चाहिँ हलमाभन्दा आफ्नै कम्प्युटर वा मोबाइलमा हेर्न मन लाग्छ । हलमा आफू भएर हेर्न पाइँदैन त्यहाँ अरूहरूले आफ्नो हेराइका भावनाहरूमा खलबल पुर्याउँछन् । म आफ्नो भावनाको मामलामा निकै गोप्य रहन रुचाउँछु । चलचित्रका दृश्य दृश्यमा मानिसले व्यक्त गर्ने प्रतिक्रियाले चलचित्रका दृष्यहरूसँगै आफूलाई समाहित गराउन सकस पर्छ । त्यसैले हलमै गएर अहिलेसम्म आधा दर्जनभन्दा धेरै चलचित्र हेरेको छैन । लमजुङको सुन्दरबजारस्थित पुरानो फिल्म हलमा स्नातक अध्ययनको सुरुवातका वर्षहरूमा केही चलचित्र हेरियो । पछि त हल पनि बन्द भयो । मल्टीप्लेक्सको जमाना आएसँगै पुराना जमानाका फिल्म हलको अस्तित्व सकियो ।
अहिले मन परेका चलचित्र ‘सिनेमा घर’ मोबाइल एपमा उपलब्ध भएसम्म किनेर भए पनि हेर्ने गरेको छु । पछिल्लो पटक यो एपमा किनेर हेरेको नेपाली चलचित्र थियो कबड्डी ४ ।
वर्ष २०८० को सुरुवात बाटै चर्चामा रहेको चलचित्र जारी चाहिँ मैले हल मै गएर हेरेँ । खै किन हो यो चलचित्र मलाई हलमै गएर हेर्ने रहर लाग्यो । स्कुले जीवनमा धारावाहिक रेडियो नाटक नयाँ बाटो नयाँ पाइलाका एक पात्र दयाहाङ राई अभिनीत चलचित्रलाई निरन्तरजसो पच्छ्याउने गरेको छु । रेडियोको एरियल घुमाउँदा घुमाउँदै सकिने मेरो बाल्यकालको साथी थियो, नयाँ बाटो नयाँ पाइला । दयाहाङ राईलाई रेडियोमा सुन्दासुन्दै हुर्केको भएर होला कति पछिसम्म पनि मलाई उनी चलचित्र अभिनेताभन्दा आफैँलाई पत्यार लाग्दैनथ्यो । मेरो स्मृति पटलमा उनलाई मेरो साथी, नयाँ बाटो, नयाँ पाइलाकै पात्र लाग्थ्यो । लुट, टलकजङ्ग भर्सेज टुल्केलगायत चलचित्रमा अभिनय गरिसक्दा पनि उनलाई मेरो मनले रेडियो नाटकबाट उठाएर एक चलचित्रको नायक बनाइसकेको थिएन । उनको त्यो आवाज मलाई रेडियो नाटकको स्मृतिमा नै सुन्दर लाग्थ्यो सायद त्यति बेलासम्म मैले उनलाई चलचित्रमा नदेखेको भएर पनि हुन सक्छ ।
रेडियो नाटकका हस्ती मदनदास श्रेष्ठले एक अन्तर्वार्तामा चलचित्रमा अभिनय गर्नुभन्दा रेडियो नाटक असजिलो हो भनेको सम्झन्छु । क्यामेराको अगाडी उभिएर अभिनय गर्नभन्दा रेडियो नाटकमा विषय र अवस्थालाई कल्पना गरेर नाटक गर्न गारो हुने भएर होला उहाँले त्यसो भन्नुभएको । दयाहाङको ‘कबड्डी’ हेरेपछि उहाँलाई मैले चलचित्रको नायकको रूपमा लिन थालेको थिएँ । मैयाँको लागि देखाएको प्रेमपूर्ण आशक्ति देखेर एक 'पागल प्रेमी' काजीप्रति सहानुभूति जाग्यो । त्यसपछि दयाहाङ्का कबड्डी कबड्डी, कबड्डी कबड्डी कबड्डी सबै हेरेपछि काजीलाई बिहे गरेर मुस्ताङबाट स्याऊ बेच्दै बसे हुन्थ्यो भनेर मनमनै सुझाएको थिएँ । मेरो मनको कुरो बुझेछन् क्यारे उपेन्द्र सुब्बा, मणिराम पोख्रेलहरुले कबड्डी ४ फाइनल म्याच बनाए । यो फिल्म चाहिँ हलमा गएर हेर्ने अलि अनौठो खाले इच्छा जागेको थियो । तर देशका कुनाकाप्चाका साना साना बजारमा खुलेका फिल्म हल बन्द भएसँगै नेपाली शैलीमा बनेका माैलिक चलचित्र हेर्ने म जस्ता दर्शकका लागि चलचित्र हेर्ने अर्थोक उपाय थिएन । अलिक समयपछि ‘सिनेमा घर’ एपमा फिल्म किनेर एक हप्तासम्म त्यही फिल्म दोहोर्याई तेहेराई हेरेको थिएँ । लाहुरे पारिवारिक माहोलमा बेलायतमा हुर्केकी मिरुना मगरलाई पन यहि चलचित्रमा दयाहाङसँगै देखेपछि अलि बढी याद गरेको थिएँ ।
यसअघि, मिरुनाले खेलेका फिल्मको मलाई खासै नाम पनि थाहा छैन । तर मैयाँको ‘डेन्जर लभ’मा परेको काजीले उसको बाउको करकापमा बिहे गर्न राजी भएर बेहुली लिन जाँदा बेहुली अर्कै केटासित टाप कसेपछि एकाएक भिक्षु बन्न गुम्बा जाँदा मनमा चिसो पसेको थियो । संयोगले मिरुना शान्ति मिस बनेर काजी नै व्यवस्थापन समितिको अध्यक्ष रहेको स्कुलमा नयाँ शिक्षिका बनेर गएपछि मेरो मनले मिरुनासित पागल प्रेमी काजीलाई जोडी बाँधिदिएर मुस्ताङका स्याऊ बेच्न फेरि सुझायो । आखिर कथा लेख्ने उपेन्द्र सुब्बाले पनि मैले जस्तै सोचेका रहेछन् । काजीलाई जोडी बाँधेर देखाइदिए । भिक्षु बन्न गुम्बा पसेको काजीको प्रतीक्षामा शान्ति मिस हाजिर नगरीकनै स्कुलमा कक्षा लिन हेडसरसित अनुरोध गरिरहेकी थिइन् । विद्यालय अध्यक्ष काजीको नेमप्लेटलाई मायाभावसहित टेबुलमा मिलाउँदै, काठको भित्तामा टाँसेको काजीको तस्बिरलाई प्रेम भावले छोएको कटक्क मनले खाएको थियो । मलाई चलचित्रमा किन किन केटीले केटालाई ‘लाइन हानेको’ दृश्य खुब मजा लाउँछ । वास्तविक जीवनमा पनि मलाई यस्तै नै मीठो लाग्छ ।आफूले केटीलाई हैन केटीले आफूलाई लाइन हान्दियोस् । बमकाजीले लेखेको पत्रको नाममा बमकाजीको अगाडीको बम काटेर काजी बनाइदिने बिके (विजय बराल) जस्ता साथीहरू सम्झिँदा मलाई आफ्नो स्कुले जीवनमा केटा साथीले फलानो प्लस फलानी वा नामको सुरुका अक्षर झिकेर बिचमा प्लस लेखिदिने गरेको याद झझल्को गराइदियो । शान्ति मिसलाई घरको डेरा उपलब्ध गराइदिएपछि सामान बन्दोबस्त गर्दा साङ्लोदेखि डराउने मिस एक्कासि काजीसँग ठोक्किन पुग्दा पनि उनीप्रति स्त्री लम्पट भाव नदेखाउने काजीको पहाड जस्तै स्थिर स्वभाव मलाई मन पर्छ । बमकाजीले लेखेको पत्रलाई काजीको चिठी बुझेकी शान्ति मिसले आफ्नी आमालाई काजीसितको कुरा सुनाएको देखेर एकल आमासँगै हुर्केकी शान्ति मिस आमासँग आफ्ना सबै कुरा गर्दिरहिछन् भनेर गम खान पुगेको थिएँ । बम काजीले शान्ति मिसलाई भगाएर घर लगेपछि चिसो पसेको मेरो मनले यस पटक त जसरी नि काजी र शान्ति मिसको बिहे हुन्छ हुन्छ भन्दै आफैँलाई थमथमाउँदै थियो । बिहे चल्दै गर्दा बमकाजीको घर छेउमा बिनदास पारामा पल्टेको झाँक्री बुढाले यस पटक काजीलाई खीर नै नखुवाईकन शान्ति मिससित जोडाइदिन एउटा एजेन्टको रूपमा काम गर्यो ।
उता कबड्डीको फाइनल खेलमा जोडिएका काजी र शान्ति मिसको जोडीलाई अन्य चलचित्रमा फरक पात्रको रूपमा हेर्ने मनको चाहना ठ्याक्कै पूरा गरिदियो कबड्डी टिमले नै । जारी फिल्म प्रदर्शनमा आएपछि बजारमा पाएको चर्चाले एक पटक मेरो मन पनि खिच्यो । पूर्वी नेपालको विराटनगरस्थित सेन्ट्रल मलमा ’जारी’ फिल्म हेरियो । कबड्डीको फाइनल खेलमा बराबरी गरेका काजी र शान्ति मिस यो फिल्ममा भने पूर्वी नेपालको पाँचथर जिल्लाको एक ग्रामीण भेगमा मेरो जन्मभन्दा अगाडीको समय यात्रामा फर्केर नामसाङ र हाङ्मा बनेका छन् । कबड्डीमा जस्तो भिक्षु बन्न निस्केको काजीलाई शान्ति मिसले ‘लाइन हानेर’ ‘साइज’मा ल्याएको जस्तो देखिएन । चलचित्रमा त सुरुदेखि नै ठाकठुक परेको रहेछ । किन सुरुमै ठाकठुकको अवस्था आएको होला भनेर गम्दागम्दै बच्चा नपाएको निहुँमा नामसाङले हाङ्मालाई कुट्न पो थाल्यो । फाइनल कबड्डीमा प्रेम देखिएको जोडी यो चोटि सुरुदेखि नै हानाहानमा उत्रेपछि मन अमिलो बन्न थालिसकेको थियो ।
हाङ्माले पोत्दै गरेको दलानमा टेकेर नामसाङले आफ्नो कुण्ठा पोख्यो । दुई जनाको बाझाबाझबिच सन्तान जन्माउन नसक्नुमा नामसाङ नै दोषी हो, नामर्द हो भन्दै हाङ्मा प्रतिवादमा उत्रेपछि नामसाङले हाङ्मामाथि खुट्टा उठायो । आफूमाथि अपमान भएको महसुस हुँदा हाङ्माले कहिले पनि नफर्किने भन्दै माइती गइन् । एक विवाहित नारीले आफूलाई अपमान हुँदा, घरमा झैझगडा हुँदा आफ्नो जन्म घर सम्झिन्छिन् । कस्तो विडम्बना जन्म घरलाई आफ्नो घर भन्न पाउनु छैन पराई घरलाई आफ्नो सम्झेर जिन्दगी त्यही व्यतीत गर्नुपर्ने ! घरमा अपमान र झगडा भएर माइती जाँदा आमा, बाबा माइतीले छोरीलाई सम्झाई बुझाई गरेर आफ्नै भाग्यले दिएको कर्म घर गरी खान सुझाउँछन् । अहिलेको परिवेश अलि बेग्लै हुन सक्ला तर आजभन्दा २५–३० वर्ष अगाडीको सेरोफेरोमा यस्तै नै हुन्थ्यो ।
हाङ्मा किन सिक्का छोडेर हिँडेकी होला भनेर नबुझेको मैले नामसाङ पक्कै श्रीमती लिन ससुराली घर जान्छ होला भनेर मनमनै सोच्दै थिएँ । तर, कथाले मोड लिइदियो अर्कै, सन्तान नहुनुमा नामर्द भन्दै दोष नामसाङ माथि थुपारेकी हाङमाले अर्को युवकमाथि पालमको नियमअनुसार बिहे गर्न नै राजी हुन्छे भनेर सोचेकै थिएन । मानव न हो भावनाले कहिलेकाहीँ तलमाथि पुर्याउँछ, जिन्दगी सम्झौता पनि त हो सम्झौता पनि गर्न जान्नुपर्छ । दुई जना मिल्न पनि सक्थे खै किन हो, आफ्नै आफ्नै बाटो गर्दा नै उपयुक्त देखे यिनीहरू, मैले बुझ्न सकिनँ । चार पाँच वर्ष सँगै सुत्दाउठ्दा एक अर्कालाई उनीहरू स्वयम् जति अरूले कसले पो बुझ्थ्यो होला र? हाङ्मा अर्कै पुरुषसित बिहे गरेर हिँडी भने नामसाङ नयाँ दुलही खोज्न दश गाउँ डुल्न थाल्यो । धन्न कसैले पत्याएन नामसाङलाई । कसैले श्रीमती छोडेको भनेर कुरा काटे कसैले बास नै दिएनन् । कतै लखेटिए, कतै कुटिए पनि । उता हाङ्मालाई पनि सोचेको जस्तो भइ दिएन, पालममा हराएर लगेको दोस्रो श्रीमान् बिहेपछि नै परदेश लाग्यो ।
जारी उठाउन नामसाङ दलबलसहित ससुराली घर पुग्यो । हाङ्मा अर्कैसित बिहे गरी हिँडेपछि माइतीले जारी तिर्न नसक्दा दोस्रो घरबाट भागेर जारीको भाग गोठालो बसी तिर्न हाङमा राजी हुन्छे । सन्तान जन्माउन नसक्दाको दोष परिवार, समाजबाट आफैँ भोग्नुपर्ने र मन खुसीले दोस्रो बिहे गर्न पनि नसक्ने महिलाको अधिकार यो पितृसत्तात्मक समाजले कहिले दिन्छ होला ? एक कठोर निर्णय गर्दै हाङ्मा आफ्नो माइतीले फर्काउन नसकेको जारीको भाग तिर्न गोठाले बस्न तयार हुँदा मेरो मन यसै अतालियो । उता बिहे गरेर गई हाङ्मा, दोस्रो श्रीमानले पनि छोडेर परदेश लाग्यो, यता आफैले थुकेको थुक चाटेसरह निकै निम्न स्तरको व्यवहार सहँदै पुरानै घरमा गोठालोको हैसियतमा फर्किदा मेरा आँखाका डिल भरिन थालेका थिए ।
समय बित्दै गयो । घरमा बुहारी नभई गोठालोको हैसियतमा बस्दै आएकी हाङ्माले नामसाङ्की आमा बिरामी हुँदा घरको दैलो टेकेर भित्र जान निकै असहज महसुस गरिन् । जीवनको आखिरी समयमा हाङ्माले आफ्नी भूपू सासुको मन जितिन् । बाध्यताले पनि कस्तो असाधारण अवस्थाको सिर्जना गर्छ, प्रकृतिको नियम पनि उदेकलाग्दो छ । माइतीले तिर्न नसकेको जारी स्वरूप गोठाले बनेर सोही घरमा फर्किएकी हाङ्मा र नामसाङ्बीच नयाँ शिराबाट अङ्कुराउन सुरु गरेको माया प्रेमले मेरो मनमा अर्कै छलाङ मार्न थाल्यो । मन एकाएक उथलपुथल भयो । नामसाङ्ले हाङ्मा र हाङ्माले नामसाङको अभाव महसुस गर्न थाले । एकै ठाउँ राखेका भाँडा नबजीरहन सक्थे र ? भाँडाहरू ठोक्किन थाले । पहिले जसरी होइन, भद्र तरिकाले । प्रेम भावनासहित । मीठो मुस्कानसहित । अद्वितीय प्रेमसहित नामसाङ् र हाङ्माबीच अङ्कुराउन थालेको नयाँ प्रीतिले म त खुसी नै थिएँ । हाङ्माले आफ्नै हातले उनेर नामसाङ्को लागि गलबन्दी बनाइदिई । हाङ्माले बाझाबाझ हुँदा भित्तामा छ्यापेको रातो माटोको छिटा नामसाङ्ले मेटाउन थाल्यो । नबोली नबोली एक अनुपम मायाको सञ्चार भयो । नामसाङ्को मर्किएको खुट्टा अगेनु छेउमा हाङ्माले आफैँ सेकाइदिई । भावविह्यवल नामसाङ् र हाङ्माबीच प्रेम मिलनको बिन्दु यही थियो । म त जारीलाई यहीँ नै सकाएर हलबाट निस्किन खोजेको थिएँ । तर सवा दुई घण्टाको लागि तिरेको ३०० रुपैयाँ सम्झेर केही समय अडिने निधो गरेँ ।
कथा फेरि अर्को बाटोतिर लाग्यो । हाङ्मा गोठाले बस्न नपर्ने भयो । उसको भाई दलबलसहित नामसाङ्को घर आएर दिदीलाई त्यो घरबाट लिएर गयो । नामसाङ् र हाङ्माबीच पलाएको प्रेममा फेरि के के पो हुन थाल्यो भनेर मेरो मन अतालिन थाल्यो । हाङ्माले प्रेममार्फत नामसाङ्लाई जितेकी थिई । नामसाङ् हाङ्मालाई लिन गयो । उता हाङ्माको दोस्रो श्रीमान् पनि हाङ्मालाई लिन आयो । दुई जारबिच खुकुरी हानाहान भयो । जार काटेको ठाउँ नेपालका धेरै ठाउँमा सुनेको थिएँ । यस्तै झगडा भएर जार काटाकाट भएको थियो होला भन्ने बुझेँ । आफूले कसैलाई छोडिन्छ भने उसले कसैलाई पनि नअङ्गालोस् ऊ आफूभन्दा कमजोर बनोस्, बलियो नबनोस् भन्ने मानवीय स्वभाव हो ।
मारे पनि मार, काटे पनि काट तिमीलाई नलिई जाँदै जान्न भनेर जबरजस्त प्रेम भाव प्रकट गरेपछि एकाएक अर्को भावुक दृश्यले मन चोर्यो । हाङ्माले शिराङ्को अगाडी आफूलाई पालममा हराएर लैजान भनेपछि नामसाङ्ले आमाले पालमको महत्व बुझाउँदै सुनाएको पालम भन्यो । शिराङ् हारेको भावमा फर्केपछि एकाएक भावुक दृश्य देखियो । हाङ्मा र नामसाङ बिचमा प्रेमको जीत भयो अरू सब थोकको हार भयो । यी दुई बिचको श्रीमान् श्रीमतीको सम्बन्ध पुनः सदर भएपछि पारिवारिक खुसी छायो । योभन्दा अर्थोक मानव जातिले खोजेको नै के छ र ? माया नै मायाले जीवन भरे पो जिन्दगी जिउनुको मजा हुन्छ । जीवनको लामो यात्रा माया र प्रेम बिना निरस हुन्छ । माया र प्रेम बिनाको जिन्दगीको त के अर्थ रह्यो र ? सुन्दर प्रेमको सधैँ नतमस्तक रहने मलाई फिल्मको अन्त यो भन्दा मीठो त के नै लाग्थ्यो र ?
कबड्डीको फाइनल खेलमा बाँधिएको जोडी शान्ति मिस र काजी भने पनि, जारीको नामसाङ् र हाङ्मा भने पनि, अद्वितीय प्रेमलाई सुन्दर तरिकाले बुनिएका अनेकौँ बहानामा बन्ने यस्तै यस्तै फिल्म सधैँ हेर्न पाई रहूँ, नेपाली माटोको सुन्दर प्रेम कहानीलाई सधैँ भावुक बनेर हेर्न पाऊँ । नेपाली चलचित्रको जय होस् !
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०, १६:३८