काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७ सय ७८ हुने भएको छ ।
प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्तावका बारेमा छलफल गर्दै कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।
२ वा २ भन्दा बढी प्रतिनिधि हुने समिति र सङ्गठनलाई महिलाको सङ्ख्या तोकिएको छ ।
मातहत समिति र सङ्गठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरिएको जसपाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्या केन्द्रीय समितिबाट ४ सय २३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १ सय ३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जनाको रहने छ ।
ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानुन व्यवसायीबाट २/२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, साँस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट १/१ जना प्रतिनिधि हुने छन् ।
बैठकले प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०, १३:४१