काठमाडौँ । नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदैछ ।
बृहत ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले जन्मिएको १५ महिना भित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरूलाई आज देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउन अनुरोध गरेको छ ।
सीआईएनसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोपले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताउनुभयो ।
यसअघि खोप लगाउन छुटेका सबै बालबालिकालाई आज नजिकैको खोप केन्द्रमा लैजान पनि उहाँले आग्रह गर्नुभयो ।
शिशु जन्मने वित्तिकै बि.सी.जी, ६ र १० हप्तामा रोटा भाइरस, पोलियो, पीसीभी, डीपीटी र हेप बी–हिब, १४ हप्तामा पोलियो, एफआईपीभी, डीपीटी, हेप बी–हिब खोप लगाउनुपर्छ ।
९ महिनामा एफआईपीभी, पीसीभी र दादुरा रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा रुबेला र टाइफाइडविरुद्धको खोप लगाउनुपर्छ ।
सरकारले आज यी खोज लगाउन छुटेका बालबािलकालाई खोप लगाउने निर्णय गरेको हो । यसअघि यही वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, १०:००