काठमाडाैँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप २० हजार किशोरीलाई उपलब्ध गराउने तयारी गरिएको हो । आगामी जेठमा नेपालमा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने विभागले जनाएको छ ।
खोप आयातकर्ता नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका व्यापार प्रमुख सन्देश सिग्देलले सम्झौता अनुसार स्वास्थ्य सेवा विभागलाई खोप उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । पुरुष र महिला दुवै एचपीभी भाइरसबाट सङ्क्रमित हुन सक्छन् ।
यो भाइरस छालादेखि छालाको सम्पर्कबाट विशेष गरी यौनजन्य क्रियाकलापका क्रममा सर्ने गर्दछ । यो भाइरसका एक सयभन्दा बढी प्रकार रहेको डाक्टरहरू बताउँछन् । जसमध्ये एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँने उहाँले बताउनुभयो । कतिपय देशमा आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, १९:४०