काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरूले रमाना लिएको/दिएको विवरण आगामी ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको निर्णयअनुसार गत वैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।
सोही परिपत्रको कार्यान्वयनका लागि मन्त्रालयले हिजो बुधबार ३ दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिनुभयो ।
परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा अन्तर्गतका कार्यालयहरू र स्थानीय तहहरूमा सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएको सङ्घीय निजामती कर्मचारीहरूको रमाना दिए/लिएको विवरण २०८० जे७ ७ गतेभित्र उपपलब्ध गराइदिनुहुन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ ।’
यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नेसमेत उल्लेख थियो ।
मन्त्रालयको निर्देशनपछि रमाना नलिएका १२ जनाभन्दा बढी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घीय कार्यालय मातहतका कर्मचारीहरूले रमाना बुझेका छन् ।
रमाना लिएदिएका विवरण प्राप्त भएपछि अटेरी गर्नेहरूमाथि अन्य कारबाहीका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०, ०८:०३